२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा खसीको टाउको राखेर कुकुरको मासु बेचिरहेका छन् : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताएका छन् ।

बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि यसको व्यवहारिक प्रयोग निकै ठूलो अन्तरविरोध देखिएको बताए ।

‘भन्दा समाजवाद माक्र्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति निकै हाबी भएको अवस्था छ,’ उनले भने, ‘समाजवादी नाम सबैले राख्ने तर समाजवादको आधाभूत सिद्धान्त र मान्यताभन्दा बाहिर गएर आफ्नो जीवन, दर्शन र राजनीतिक दिशा र सांस्कृतिक आचरण गर्ने प्रवृत्ति हाबी छ ।’

समाजवाद भन्ने र प्रयोग गर्नेको बीचमा निकै ठूलो अन्तरविरोध देखिएको उनले बताए । ‘अहिले समाजवाद त सामन्त, दलाल, नोकरशाह, पुँजीवादी सबैले शब्द प्रयोग गरिरहेका छन्, उनले भने, ‘यो शब्द लोकप्रिय भएकोले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सजिलो हुन्छ भनेर व्यवहारमा व्यक्तिवादी स्वार्थ पूरा गर्ने प्रचलन, फेसन अहिले देखिएको छ ।’

आजभोलि वैज्ञानिक समाजवादको प्रयोगपनि सबैखाले अवसरवादी र पूँजीवादीले प्रयोग गरिरहेका उनले जिकिर गरे । ‘सक्कली र नक्कली समाजवादी छुट्याउन निकै जिटल र चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ,’ उनले भने ।

उनले थपे, ‘नेपालमा आधारभूत रूपमा पूँजीवादी जनवादी क्रान्ति सफल भएर हामी अब समाजवादी क्रान्तिको चरणमा प्रवेश ग¥यौं भनेर एकाध बाहेक सबैले भन्न थालेका छन् ।’

कसैले पनि समाजवाद तत्काल आइहाल्यो नभनेको र समाजवादको चरणमा प्रवेश गरेका छौं मात्र आफूहरूले भनेको उनले बताए । समाजवाद तत्काल कायम हुन सक्ने अवस्था नभएरै संविधानमा समाजवाद उन्मुख शब्द उल्लेख गरिएको उनले तर्क गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीयता सामूहिकताको अभ्यास गर्न समाजवादको भ्रुण भएको उनले व्याख्या गरे ।

संविधानमा रहेका सबै सकारात्मक विषयहरूलाई उल्ट्याउने प्रयास भइरहेको उनले आरोप लगाए । ‘कुकुरकै मासु बेचिरहेका छन् !’ प्रचण्डले माओवादीले युद्धकालीन समयमा भन्ने गरेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थाको अभ्यास अहिले नेपालमा भइरहेको आरोप लगाए ।

‘अहिले जे भइरहेको देखिन्छ, समितिका प्रतिवेदनमाथि भइरहेका छेडखानीहरू त्यो त्यस्तै हो, देखाउँदा खसीको टाउको देखाइएको छ भित्रभित्रै कुकुरको मासु बेचिइरहेको छ,’ उनले भने । सरकारले भ्रष्टहरूलाई संरक्षण गरिरहेको र दलाल पूँजीवादको स्वार्थअनुरूप काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : ३८ बजे