४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा ६ अर्ब ७१ करोड बजेट फ्रिज



काठमाडौं । रुपन्देहीमा आर्थिक वर्ष २०८१र०८२ मा ६ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ६ अर्ब ७१ करोड ७९ लाख ८१ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको हो ।

चालुतर्फ ९२.१९ प्रतिशत खर्च गरेको कार्यालयहरूले पुँजीगततर्फ भने ६०.७२ प्रतिशत मात्र खर्च गरेको छ । पूर्वाधारको आवश्यकता पूरा गर्न गरिने पुँजीगत खर्चमध्ये झन्डै ४०.३३ प्रतिशत खर्च असार महिनामा भएको छ । पुँजीगत तर्फ असार महिनामा मात्र ३ अर्ब २९ करोड ४८ लाख ३३ हजार १ सय ८४ रुपियाँ खर्च भएको छ । असारे विकास अझै पनि हटेको छैन भन्ने सन्देश यो तथ्याङ्कले देखाएको छ ।

कोष नियन्त्रक मदन कुमार जिसीका अनुसार जिल्लामा कुल ३१ अर्ब ८० करोड सात लाख विनियोजित बजेटमध्ये २५ अर्ब आठ करोड २७ लाख ४९ हजार आठ सय ४३ रुपियाँ अर्थात् ७८ दशमलव ८७ प्रतिशत मात्र खर्च भएको छ ।

खर्च गर्नलाई ३१ अर्ब पाएको रुपन्देही जिल्लाले केन्द्रलाई एक खर्व २० अर्ब ६९ करोड बढी राजस्व उठाएर पठाएको छ । प्रमुख कोष नियन्त्रक मञ्जु कुमारी जैसी ढकालले गत आर्थिक वर्षको तुलनामा यस वर्ष रुपन्देही जिल्लामा १५ प्रतिशतले राजस्व बढी सङ्कलन भएको बताए ।

रुपन्देहीमा सबैभन्दा बढी राजस्व उठाएको भैरहवा भन्सार कार्यालयले ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार चार सय ८९ राजस्व सङ्कलन गरेको छ। यसै गरी आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ६३ करोड ४५ लाख, आन्तरिक राजस्व कार्यालय भैरहवाले १२ अर्ब ९८ करोड ३७ लाख, अध्यागमन कार्यालयले १८ करोड २२ लाख रुपियाँ र जिल्ला प्रशासन कार्यालयले १२ करोड, १५ लाख ५३ हजार १ सय ५४ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : १३ बजे