मुगु । विश्वका चारधामभित्र पर्ने छायाँनाथ धामको तिर्थयात्रा सुरु भएको छ । शुक्रबार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहेको शिवजिको मूर्ति पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकर्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तिर्थयात्रा सुरु भएको हो ।
हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरज्युको मूर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिएसँगै छायाँनाथ धाम तिर्थयात्रा सुरु भएको मानिन्छ ।
शुक्रबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनका लागि मुगुलगायत, जुम्ला, हुम्ला कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामीझाँक्रीसहित तीर्थालुहरू दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।

जनैपूर्णिमामा छायाँनाथमा पाँच दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा वरदान माग्न १५ जिल्लाबाट तिर्थालु भक्तजनको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी सनत कुमार हमालले जानकारी दिए । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तिर्थस्थलका रूपमा पुज्न थालिएको उहाको भनाइ छ ।
उक्त छायाँनाथ मन्दिरमा जाने तिर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध र आफुले चिताएको वर मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन् ।

विश्वकै चार पवित्रस्थलका रूपमा रहेको छायनाथ विश्वकै उच्च स्थानमा रहने धामका रूपमासमेत चिनिने गर्दछ । शुक्रबार प्रस्थान गरेको टोली पूर्णिमा परेवको दिनमा फर्किने गर्दछ । यसैबीच,भोलि नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिकस्थल ऋणमोक्ष मन्दिरमा पनि छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तिर्थालुहरू जाने गर्दछन् । त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गर्न आउने गर्दछन् ।
प्रतिक्रिया