२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किराले स्याउ खान थालेपछि मुगुका कृषक चिन्तित



राज्यश्वोर मल्ल, मुगु

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–५ ढुमा गाउँ गैरा पातलमा स्थानीय कृषक जसबहादुर बुढाले तीन वर्षदेखि फुजी जातको स्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन्। करिब तीन हल क्षेत्रफलमा खेती गर्दै आएका उनले हाल ३८० वटा फुजी स्याउका बोट र २०० वटा स्थानीय जातका बिरुवा लगाएका छन्।

हाल फुजी स्याउका बिरुवा राम्रोसँग हुर्की उत्कृष्ट रूपमा फल्न थालेका छन् तर बनमा बस्ने झिर्मी किराले फल खान थालेपछि बचाउन कठिन भएको उनको भनाइ छ। “तीन वर्षदेखि फल दिन थालेको हो। तर झिर्मीले खान थालेपछि फल जोगाउन समस्या भएको छ,”—कृषक बुढाले बताए।

फुजी जातका स्याउ अत्यन्तै स्वादिला, छिटो फल्ने र अन्य जातका स्याउभन्दा महँगा पर्ने भएकाले आफूले यस जातको व्यावसायिक उत्पादन सुरु गरेको उनले बताए। उनका अनुसार मुगुमा अहिलेसम्म पुरानै जातका स्याउको उत्पादन हुँदै आएको भए पनि बजारमा फुजी जातको उच्च मागका कारण जोखिम उठाएर खेती सुरु गरिएको हो।

यसअघि कर्णाली प्रदेशका केही जिल्लामा मात्र परीक्षणका रूपमा फुजी जातको स्याउ लगाइएको भए पनि मुगुमा भने यो पहिलोपटक व्यावसायिक रूपमा उत्पादन भइरहेको छ। फुजी स्याउ स्वादिलो, टिकाउ र बजारमुखी मानिन्छ।

स्थानीयवासीले कृषि कार्यालय र स्थानीय तहबाट प्राविधिक सहयोग र अनुदान उपलब्ध गराए यस क्षेत्रलाई फुजी स्याउ उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : ४३ बजे