काठमाडौं। काठमाडौंमा जारी नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा आज अन्तिम मतदाता नामावली प्रकाशन गरिँदैछ। सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आवश्यक परे मतदानसमेत गरिनेछ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ। प्रारम्भिक नामावलीउपर उजुरी दिने समय २ः३० बजेदेखि ३ः०० बजेसम्म तोकिएको छ। उजुरीमाथि जाँचबुझ तथा आवश्यक प्रक्रिया पूरा गरेपछि साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
कार्यतालिका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गरिनेछ।
निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरे पनि शीर्ष तहमा सहमतिको प्रयास भने जारी छ। अध्यक्ष ओली पक्षका नेताहरू अध्यक्षमा केपी शर्मा ओलीलाई निरन्तरता दिने र अन्य पदमा निर्वाचन गराउने पक्षमा देखिएका छन्।
भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उद्घाटन भएको एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र मंसिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ। बन्दसत्र सुरु हुनुअघि बसेको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनका केही निर्णय उल्ट्याएको थियो।
महाधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी जम्मा १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरिएको छ। केन्द्रीय कमिटीको एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइ रहने गरी स्थायी कमिटी गठन गरिनेछ।









प्रतिक्रिया