वालिङ (स्याङ्जा)
स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। पहाडको टाकुरोमा अवस्थित समथर तथा केही भिरालो खुला चौर रहेको यस स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा र कास्कीका विभिन्न भूभाग देख्न सकिन्छ।
उत्तरतर्फ हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरि लगायतका मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भएकाले पनि राम्चेडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो।
रमणीय पर्यटकीय सम्भावना बोकेको यस स्थानलाई व्यवस्थित रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम भइरहेको वालिङ–१२ का वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए। उनका अनुसार वडा, नगर, प्रदेश तथा सङ्घीय सरकारबाट विनियोजित बजेटमार्फत विभिन्न चरणमा पर्यटन पूर्वाधार निर्माण भइरहेको छ।
“गाउँबाट सहरतर्फ बसाइँ सर्ने क्रम बढिरहेका बेला स्थानीयलाई गाउँमै रोजगारी र आम्दानीसँग जोड्ने उद्देश्यले राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै आएका छौँ,” वडाध्यक्ष गुरुङले बताए।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वडा, नगर, प्रदेश, सङ्घ र स्थानीयको व्यक्तिगत सहयोग तथा जनश्रमदानबाट भवन, प्रतीक्षालय, चौपारी, बालबालिकादेखि सबै उमेर समूहका लागि पिङ, शौचालय लगायतका संरचना निर्माण गरिएको छ।
वडाध्यक्ष गुरुङका अनुसार सरकारी बजेटसँगै स्थानीय समुदाय र सहयोगदाताको सहकार्यमा २०७९ सालदेखि हालसम्म झण्डै ४५–५० लाख रुपैयाँ खर्च भइसकेको छ। पर्याप्त प्रचारप्रसार हुन सके राम्चेडाँडामा अझ बढी पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।
यहाँ विशेषगरी बिदाका दिनहरूमा विद्यालय, सङ्घसंस्था, समूह तथा क्लबहरू वनभोज खान आउने गरेका छन्। वनभोजका लागि आउने पर्यटकको सुविधालाई ध्यानमा राख्दै खानेपानी, बिजुली, पकाउने तथा खाने भाँडाकुँडा, ग्यास र दाउराको व्यवस्था स्थानीय भाउजु समूहले गरिदिने गरेको सृजना भाउजु समूहकी अध्यक्ष भागिमा गुरुङले बताइन्।
उनका अनुसार कतिपय समूहले आफैँ सामग्री ल्याउने गरे पनि धेरैले स्थानीय रूपमा उपलब्ध गराइएका सामग्री प्रयोग गर्ने गरेका छन्।
राम्चेडाँडाको नजिकै गुरुङ समुदायको बस्ती रहेको छाप गाउँ अवस्थित छ। दसैँ–तिहार, सार्वजनिक बिदा तथा शुक्रबार र शनिबारका दिनहरूमा यहाँ दृश्यावलोकन र वनभोजका लागि जानेको संख्या उल्लेख्य रहने गरेको छ।
कच्ची सडक पुगेकाले राम्चेडाँडासम्म जीप तथा मोटरसाइकलमार्फत पुग्न सकिन्छ। केही दिनअघि राम्चेडाँडा पुगेका वालिङ–८ का जीवलाल काफ्लेले उक्त स्थान निकै आकर्षक र दृश्यावलोकनका लागि उपयुक्त रहेको बताए।
“पहिले अरूबाट सुनेको मात्र थिएँ,” उनले भने, “त्यहाँ पुगेपछि साँच्चिकै रमणीय र मन लोभ्याउने ठाउँ रहेछ।”
पूर्वाधार विस्तारसँगै राम्चेडाँडामा आन्तरिक पर्यटकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। रासस









प्रतिक्रिया