काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले “हाम्रो प्रहरी” अभियानको अवसरमा गोकर्णेश्वर नगरपालिकालाई शान्ति–सुरक्षा र प्रहरी सेवा सुदृढ पार्न गरेको योगदानको कदरस्वरूप सम्मान गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नगरपालिकाका प्रमुख दीपक रिसाललाई एक कार्यक्रमका बीच सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो।
नगरपालिकाले जेनजी आन्दोलनमा तहसनहस भएका सातवटा प्रहरी चौकी १५ दिनभित्र पुनःनिर्माण गरेको थियो। साथै, आगजनीमा नष्ट भएका चौकीका सवारी साधनको अभाव पूर्ति गर्न प्रत्येक चौकीलाई सातवटा मोटरसाइकल प्रदान गरिएको थियो।
नगरपालिकाले प्रहरी चौकीहरूलाई कम्प्युटर लगायत आवश्यक सामग्री उपलब्ध गराउने, ट्राफिक प्रहरीको व्यवस्थापनका लागि बंगला निर्माण, सडक डिभाइडर, मापसे चेकिङ मेसिन, ह्विल लक, लाइट तथा चार स्थानमा ट्राफिक लाइट जडान जस्ता विविध पहलहरू गरेको थियो। महानगरीय प्रहरी वृत्त बौद्धको पुनर्निर्माणका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरिएको थियो।
नगरप्रमुख दीपक रिसालले उक्त सम्मानप्रति आभार व्यक्त गर्दै, शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन र नागरिक सुरक्षाका लागि सधैं प्रहरी प्रशासनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्मान नगरपालिकाले प्रहरी चौकी पुनर्निर्माण, ट्राफिक व्यवस्थापन सुधार, सवारी साधन र आवश्यक सामग्री उपलब्ध गराउने लगायत शान्ति–सुरक्षा क्षेत्रमा गरेको योगदानका कारण दिइएको हो।









प्रतिक्रिया