२३ पुस २०८२, बिहिबार | Thu Jan 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेमाल गाउँपालिकामा चौथौ राष्ट्रपति रनिङ शिल्ड सुरु



प्रवेश काफ्ले

२३ पुस, काठमाडौ । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा गाउँपालिकास्तरीय चौथौ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । तेमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

तेमाल–५, पोखरी नारायणस्थान खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका १० सामुदायिक विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएको तेमाल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णराम घिमिरेले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले खेलकुद स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै गाउँपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए ।

खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अध्यक्ष तामाङले तेमाल गाउँपालिकाभित्र रहेका सबै खेलमैदानलाई क्रमशः स्तरोन्नति गर्दै खेलाडी उत्पादन र खेलकुद विकासलाई निरन्तरता दिइने बताए ।


सो अवसरमा गाउँपालिका उपाध्यक्ष दलमान थोकरले स्थानीय तहमा खेलकुदको विकासले बालबालिका तथा युवाहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताउँदै प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहनमा यस्ता प्रतियोगिता महत्वपूर्ण हुने धारणा राखे ।

कार्यक्रममा वडा अध्यक्षहरु, गाउँकार्यपालिका सदस्य, गाउँसभा सदस्य, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

स्थानीय तहमा खेलकुदको प्रवद्र्धन तथा प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले तेमाल गाउँपालिकामा खेलकुद विकासमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।

कार्यक्रमको समापन समारोह पौष २५ गते शुक्रबार दिउँसो १२ बजे सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

तस्विरहरु

प्रकाशित मिति : २२ पुस २०८२, बुधबार  ९ : २९ बजे