२३ पुस २०८२, बिहिबार | Thu Jan 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा युवाको पहल : सामाजिक न्याय र नागरिक चेतनाका लागि ‘जागरुक मुगु’ गठन



सरस्वती बुढा

सुर्खेत, पौष २४

मुगु — जिल्लाका युवाहरूले सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित नयाँ सामाजिक संगठन “जागरुक मुगु (Jagaruk Mugu)” स्थापना गरेका छन्।

सङ्गठनले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, बालअधिकार, वातावरण संरक्षण, सामाजिक न्याय र नागरिक अधिकार लगायतका क्षेत्रमा समुदायलाई सचेत बनाउने काम गर्ने जनाएको छ। यसले समानता, उत्तरदायी नेतृत्व, मतदानको महत्व र नागरिक कर्तव्य बारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।

जागरुक मुगुले स्थानीय युवाहरू, महिला तथा समुदायका सबै वर्गलाई सहभागी गराउँदै लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक चेतना बढाउने अभियान सञ्चालन गर्ने योजना बनाएको छ। संगठनका प्रतिनिधिहरूका अनुसार, यसको मुख्य लक्ष्य सचेत, जिम्मेवार, समावेशी र दिगो समाज निर्माण गर्नु रहेको छ।

सङ्गठनले वर्तमान समाजमा व्याप्त सामाजिक अन्याय, भ्रष्टाचार, शक्ति दुरुपयोग र दण्डहीनता लोकतन्त्रका लागि गम्भीर चुनौती भएको औंल्याएको छ। युवामा बढ्दो निराशा र राजनीतिक अस्थिरताले भविष्यप्रति चिन्ता बढाएको उल्लेख गर्दै सामाजिक रूपान्तरणका लागि साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

जागरुक मुगुले भ्रष्टाचारविरुद्ध जनचेतना अभियान, नागरिक शिक्षा, युवा सशक्तिकरण, तथ्यमा आधारित वकालत, संयुक्त वक्तव्य र सार्वजनिक निकायहरूको सामाजिक निगरानी जस्ता क्षेत्रमा सक्रिय भूमिका खेल्ने योजना बनाएको छ।

सङ्गठनका प्रतिनिधिहरूले भने, “हामी नैतिकता र इमान्दारीलाई मार्गदर्शक मान्दै सबै नागरिकको गरिमा, अवसर र अधिकारको सम्मान गर्नेछौँ। अहिंसात्मक र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने, र वर्ग, जाति, लिङ्ग, क्षेत्र वा विचारको आधारमा भेदभाव नगर्ने हाम्रो प्रतिबद्धता हो।”

जागरुक मुगुको पहलले मुगु जिल्लामा युवा सहभागिता, सामाजिक जागरूकता र दिगो विकासको नयाँ युग सुरु गर्ने अपेक्षा रहेकोे उब्जन शाही बताउनुभयो।

प्रकाशित मिति : २३ पुस २०८२, बिहिबार  १ : ३६ बजे