२३ पुस २०८२, बिहिबार | Thu Jan 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फागुन २१ को निर्वाचन सुरक्षाका लागि ८० हजार सेना परिचालन हुने



२४ पुस, काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकार, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रपतिबाट अनुमोदन भइसकेको छ । सोही योजनाअनुसार निर्वाचनको करिब एक महिना अघिदेखि नै सेनाको फौज फिल्डमा परिचालन गरिनेछ ।

निर्वाचन सुरक्षाका क्रममा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा गर्नेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन चारै सुरक्षा निकाय, जिल्ला प्रशासन र स्थानीय तहसँग सहकार्य गर्दै एकीकृत तालिम तथा अभ्याससमेत सञ्चालन गरिने सेनाले जनाएको छ ।

मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचनस्थल तथा केन्द्रको सुरक्षा सम्हाल्नेछ । मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि सेनाले लिनेछ ।

निर्वाचनलाई लक्षित गरी देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गर्ने तयारीसमेत गरिएको छ । हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन् र त्यहाँबाट प्राप्त सुझावका आधारमा सरकारले थप सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।

राज्यको प्राथमिक दायित्वका रूपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिसँग समन्वय गर्दै आफूहरू पूर्ण रूपमा तयार रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बिहिबार  १ : ५१ बजे