२६ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस विशेष महाधिवेशन आजदेखि, भृकुटीमण्डपमा उद्घाटन



२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम आयोजना गरिनेछ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो । तर सभापति देउवाले निमन्त्रणा अस्वीकार गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिँदै आएको छ । उनीहरूले आजकै दिन जिल्ला सभापति तथा युवाको भेला पनि बोलाएका छन् ।

आज उद्घाटन कार्यक्रमपछि विशेष महाधिवेशनको बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व विशेष महाधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिहरूमध्येका जेष्ठ सदस्यले गर्ने तय भएको छ । तर कसले सभापतित्व गर्ने भन्ने अन्तिम निर्णय भइसकेको छैन । विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यका अनुसार पहिलो विशेष महाधिवेशनका प्रतिनिधि ओमकार श्रेष्ठ र पूर्वउपसभापति गोपालमान श्रेष्ठमध्ये एक जनाले बन्द सत्रको सभापतित्व गर्ने सम्भावना छ ।

पार्टी विधानको धारा १७(२) बमोजिम पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका हुन् । आचार्यका अनुसार २०१४ सालमा मोरङमा सम्पन्न विशेष महाधिवेशनको उद्घाटन तत्कालीन मोरङ सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए । सोही परम्पराअनुसार यसपटक काठमाडौं जिल्ला सभापतिले उद्घाटन गर्ने जानकारी उनले दिए ।

विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनमा सहभागी हुन बाहिरका जिल्लाबाट प्रतिनिधिहरू शनिबार नै काठमाडौं आइपुगेका छन् । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम पनि तय गरिएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, आइतबार  ८ : ४२ बजे