काठमाडौं । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवा तयार नभएपछि नेपाली कांग्रेस विभाजित भएको छ । लामो समयदेखि जारी आन्तरिक संघर्ष अन्ततः पार्टी फुट्ने तहमा पुगेको हो ।
देउवा नेतृत्वको केन्द्रीय समितिले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै पाँच वर्षका लागि कारबाही गरेको छ । केन्द्रीय समितिको उक्त निर्णयसँगै कांग्रेसभित्रको विवाद सार्वजनिक रूपमा विभाजनमा परिणत भएको हो ।
यता, विशेष महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउँदै सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया सुरु गरेका छन् । देउवाको नेतृत्वमा अब चुनावमा जान नसकिने निष्कर्षसहित विशेष महाधिवेशन पक्षधरहरूले पटक–पटक नेतृत्व परिवर्तनको माग गर्दै आएका थिए । तर सभापति देउवा पद छोड्न तयार नभएपछि अन्ततः पार्टी विभाजन भएको उनीहरूको दाबी छ ।
कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहने समूहबीचको संघर्ष विभाजनको तहमा पुगेको बताइन्छ । केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई कारबाहीको घोषणा गरेपछि प्रतिक्रिया दिँदै गगन थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको बताएका छन् ।
“यो मैले इतिहास बनाएको पार्टी हो, आन्दोलन हाँकेको पार्टी हो,” थापाले भने ।
देउवा पक्षले भने पार्टी चुनावको तयारीमा रहेकाले अहिले विशेष महाधिवेशन गर्न नसकिने अडान राख्दै आएको थियो । केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति समेत तय गरेको थियो । तर कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले यसअघि नै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका थिए ।
नियमित महाधिवेशनको मिति तय भइसकेपछि विशेष महाधिवेशन हुन नसक्ने संस्थापन पक्षको अडान रहँदै आएको थियो । विशेष महाधिवेशन पक्षधरहरूले भने विधानमै व्यवस्था भएकाले यसलाई नजरअन्दाज गर्न नमिल्ने तर्क राख्दै आएका थिए ।
विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ भित्र महाधिवेशन बोलाउनका लागि दिएको निवेदनको समयसीमा सकिन लागेकाले जसरी पनि महाधिवेशन गरेरै छाड्ने अडान लिए । सोही अडानअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाइयो ।
महाधिवेशन चलिरहेकै बेला पनि पार्टीलाई विभाजनबाट जोगाउन पटक–पटक वार्ताका प्रयास गरिएका थिए । दुवै पक्षले वार्ता टोली गठन गरी सन्देश आदान–प्रदान गरे पनि कुनै सहमति जुट्न सकेन । अन्ततः दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनमा पुगेको हो ।










प्रतिक्रिया