स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवं गाउँ सभाको १७ औं अधिवेशनमा ४५ करोड ३७ लाखको बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएसङ्गै उपाध्यक्ष सपना गुरुङले आगामी आर्थिक वर्षका लागि ४५ करोड ३७ लाख १० हजार छ सय ५३ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

बिहीबार उपाध्यक्ष गुरुङले चालू खर्चतर्फ ३२ करोड सात लाख २० हजार रुपैयाँ अर्थात् ७०.६८ प्रतिशत र पूँजीगततर्फ १३ करोड २९ लाख ९० हजार ६५३ रुपैयाँ अर्थात २९.३२ प्रतिशत अनुमानित आय व्यय प्रस्तुत गरेकी हुन् ।
बजेटमा अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ३२ करोड ९ लाख ८९ हजार प्राप्त हुने लक्ष्य लिइएको छ । यस्तै, राजश्व बाँडफाँड तथा आन्तरिक श्रोततर्फ १३ करोड २७ लाख २१ हजार ६५३ आम्दानी हुने अनुमान गरिएको छ ।

अधिवेशनले यस वर्षको बजेटमासमेत सडक, शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिकाले गाउँपालिकाको सदरमुकामदेखि सबै वडा कार्यालयहरु पक्की सडकले जोड्ने उद्देश्यले संघ र प्रदेशसँग साझेदारी गर्ने गरी बजेट विनियोजन गरेको छ ।
यस्तै, यहाँका मुख्य सडकको स्तरोन्नतिका साथै पालिकाको सदरमुकामसम्म जोड्ने सडकको लागि सात करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । स्वास्थ्य, शिक्षा, वन वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता राख्दै पालिकाले एक करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकामा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रबाट प्रदान गरिएका सेवाहरुमा थप विस्तार गर्नका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । विपन्न नागरिकको जीविकोपार्जन सुधार तथा आय वृद्धिका लागि बीउपूँजी कार्यक्रममा १० लाख र आमा समूहबाट माग भई आएका योजना तथा मागमा आधारित कार्यक्रमका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी, नेपालकै पहिलो नवग्रह मन्दिर र मुक्तिनाथधाम जोड्ने छोटो दुरीको अर्जुनचौपारी–आग्रीखर्क–पर्वत–बाग्लुङ हुँदै मुक्तिनाथ सम्मको सडक निर्माण तथा स्तरोन्नतिको लागि प्रदेश सरकारको साझेदारीमा चार करोड बजेट विनियोजन गरिएको छ ।

युवालाई खेलप्रति आकर्षित गर्न, प्रतिभाको पहिचान गर्न र खेल क्षेत्रमार्फत पर्यटनको प्रवर्द्धन गर्न आगामी वर्ष अर्जुनचौपारी गाउँपालिका वडा नं –५ स्थित थाप्ले क्रिकेट मैदानमा स्तरोन्नति तथा प्रदेशस्तरीय गण्डकी टी–टेन क्रीकेट लिगको आयोजनाको लागि २० लाख विनियोजन गरिएको छ ।
मृगौला प्रत्यारोपण गरेका डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधी उपचार खर्चका लागि समेत बजेटको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया