२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक दशकपछि सुरु भयो खडेरादेवको तीर्थयात्रा



राज्यश्वोर मल्ल
मुगु, साउन २१

करिब १० वर्षपछि मुगु जिल्लामा खडेरादेवको ऐतिहासिक धार्मिक तीर्थयात्रा आजदेखि सुरु भएको छ। ऋणीमच्याको तीर्थयात्रामा यस वर्ष बुढोबाबाको मूर्ति र घण्ट नलिएर केवल खडेरादेवको मूर्ति र घण्ट बोकेर नुहाउने परम्परा पालन गरिएको हो।

छायानाथ रारा नगरपालिका–४ भामबडाका पूजारी तथा गाउँलेहरूले बाजा–गाजा सहित धुमधामका साथ आजका दिन यात्रा आरम्भ गरेका छन्। यो तीर्थयात्रा १० वर्षमा एक पटक मात्र हुने भएकाले यसपटक विशेष चहलपहल देखिएको छ। साविक रोबा गाविस वडा नं. ४ मा रहेको ऋणीमक्षे पापकुण्डमा नुहाउँदा पाप मोचन हुने र मागेको वरदान प्राप्त हुने विश्वासले श्रद्धालुहरूको भीड लागेको हो।

यो धार्मिक यात्रा जनैपूर्णिमासम्म चार दिनसम्म निरन्तर चल्नेछ। जनैपूर्णिमाको दिन लामाथाडा पुगेर पूजा गर्ने अनिवार्य परम्परा रहेको स्थानीय लक्ष्मीप्रसाद भामले जानकारी दिए ।

मुगुसँगै जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका जिल्लाबाट धामीझाँक्री र तीर्थालुहरू ऋणीमच्यामा दर्शनका लागि आउने गर्छन्। जनैपूर्णिमासम्म पाँच दिनसम्म पूजापाठ, होम र व्रत सञ्चालन हुने छ। यस क्रममा श्रद्धालुहरूले श्राद्ध, होम, व्रतबन्ध गरी आफ्ना मनोकामना पूर्ति हुने विश्वासका साथ वरदान माग्ने गरेका छन्।

ऋणीमच्या मन्दिरमा कतिपय श्रद्धालु झाँक्रीको रूपमा आउने गरेका छन् भने कोही देवताको घण्टमाला पवित्र बनाउन आउने गर्छन्। विश्वकै पवित्रस्थलमध्ये एक मानिने ऋणीमच्या उच्च स्थानमा रहेको भए पनि बाटोको अवस्था कठिन छ। बाटोमा बास बस्ने सुविधा र खानपिनको सहजता नभएकाले यात्रा केही जोखिमपूर्ण मानिन्छ।

परम्पराअनुसार आज तिर्दसीका दिन सुरु भएको यात्रा जनैपूर्णिमाको दिन सम्पन्न हुनेछ। चौधसिका दिन जिल्लाभरका धामीहरू ऋणमोक्ष मन्दिरबाट फर्की जनैपूर्णिमामा लामाथाडा पुग्ने परम्परा रहिआएको छ।।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : ०३ बजे