ताप्लेजुङको सुन्दर पर्यटकीय क्षेत्र तोक्पेगोलामा यतिबेला केञ्जो फुल (पदमचाल) फुल्दा उच्च हिमाली भूभाग अझै मोहक बनेको छ । चट्टान फोड्दै उम्रिने यो दुर्लभ फूलले वरपर सुगन्धित बनाइदिएको अनुभूति हुन्छ ।
ढकमक्क फुलेको पदमचालले यहाँका फाँट र डाँडाहरू चित्रमय देखिन्छन् । कुहिरोले क्षणभरमै छोपिदिँदा पृथ्वीको कुनै अज्ञात कुनामा पुगेजस्तो लाग्छ । कुहिरो बिस्तारै पन्छिँदा मानौँ दुलहीले लजाउँदै घुम्टो उघारेजस्तै दृश्य खुल्छ । यस्तो रोमाञ्चक मौसम र फूलको सौंन्दर्यले जो कोहीलाई स्वर्गीय आनन्द दिलाउँछ ।

पत्रैपत्र परेको पिरामिड जस्तो आकारका यी फूल देखेर मोहित नहुने सायदै कोही होलान् । कतिपय प्रत्यक्ष हेरेर मख्ख पर्छन् भने कतिपय फोटो वा भिडियोमा देखेर नै लोभिन्छन् । तर प्रत्यक्ष हेर्न उच्च पहाडी क्षेत्रको कठिन यात्रा गर्नै पर्छ । भिरालो चट्टानमा फुल्ने भएकाले नजिक पुग्न सजिलो छैन । पछिल्ला वर्षहरूमा यसको तस्बिर होटल, रेस्टुरेन्ट र अन्य स्थानमा सजावटका रूपमा राख्ने प्रचलन बढेको छ ।
उच्च हिमाली भेगमा कतिपयले पदमचाललाई ‘फूलको रानी’ पनि भन्छन् । जिल्लाको तोक्पेगोला, लुम्बासुम्बा, मिक्वाखोला–५ लोदेन, फक्ताङलुङ–७ सिङजे, देउमा र माउमा क्षेत्रमा यसको राम्रो उपस्थिति पाइन्छ ।
धरहरा जस्तो ठाडो बनावटको सेतो केञ्जो फुल दुर्लभ प्रजातिमा पर्छ । लेकाली चौर र अग्ला डाँडामा यसको फुल्ने दृश्य निकै मोहक हुन्छ । यसको पहिलो विस्तृत वर्णन ब्रिटिस वनस्पतिविद् सर जोसेफ डल्टन हुकरले ‘हिमालयन जर्नल्सः नोट्स अफ अ नेचुरलिस्ट’ पुस्तकमा गरेका थिए । उहाँले लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा देखेका पदमचाललाई कालो पहाडको सौन्दर्य बढाउने वनस्पति भनेका छन् ।

संस्कृतमा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले र गन्धिनी नामले चिनिन्छ । पोलिगोनेसी परिवारमा पर्ने यो वनस्पति नेपालमा तीन हजार देखि चार हजार उच्चाइ भन्दा माथी हिमाली भूभागमा स्वाभाविक रूपमा उम्रिन्छ । व्यावसायिक खेती भने भएको पाइँदैन । मिक्वाखोला–५ तोक्पेगोलाका मिलन दोर्जे शेर्पाका अनुसार यसको बोट अचार बनाउन पनि प्रयोग हुन्छ ।
यो फूल खुला चौर, थुम्का र ढुंगाको फाँटमा हुर्किन्छ । एक–दुई मिटर अग्लो बोटको जरा र जमिनमुनि रहने काण्ड कडा र गठिलो हुन्छ भने बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित वासना आउँछ र स्वाद पिरो, टर्रो तथा अलिक अमिलो हुन्छ । पातहरू तलतिर ठूलो र माथितिर सानो हुने यो फूलमा भाले–पोथी दुवै प्रजनन अंग हुन्छन् । यसको बिरुवा काण्डका टुक्रा वा बीउबाट उमारिन्छ ।
औषधीय दृष्टिले पनि पदमचाल महत्वपूर्ण मानिन्छ । आयुर्वेदमा यसलाई कब्जियत, पखाला, ज्वरो र शरीरको जलन हटाउन प्रयोग गरिन्छ । यसको जरा सुकाएर वा ताजा अवस्थामा विभिन्न रोग उपचारमा प्रयोग हुने विश्वास छ । साथै यसको पात, डाँठ र फूललाई अचार तथा तरकारीमा समेत प्रयोग गरिन्छ । RSS
प्रतिक्रिया