३२ श्रावण २०८२, आइतबार | Sun Aug 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमतीको हत्या गरेर पलङमा लुकाउने श्रीमान् वीरगञ्जमा समातिए



काठमाडौं। गोंगबुमा श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी भारत भाग्ने क्रममा नियन्त्रणमा लिएको हो।

३० साउनको राति गोंगबु मित्रनगरस्थित भीममाया लिंखाले सञ्चालन गरेको कोशी होटल एन्ड लज को कोठा नम्बर २०१ मा २७ वर्षीया ललिता बिकको शव बक्स पलङभित्र फेला परेको थियो। ललिता सन्तोषकी कानूनी श्रीमती भएको प्रहरीले पुष्टि गरेको छ।

डिभोर्स छलफलकै बीचमा हत्या

प्रहरीका अनुसार सन्तोष र ललिताको सम्बन्ध पछिल्लो समय अस्वस्थ बनेको थियो। सन्तोषको अर्को महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि दुवैबीच सम्बन्ध बिग्रँदै गएको खुलेको छ। सम्बन्ध विच्छेद गर्ने सहमतिसहित अन्तिम छलफलका लागि सन्तोषले २७ साउनमा श्रीमतीलाई होटल बोलाएका थिए।

तर, दिउँसो होटलमा छिरेका उनीहरू मध्ये दिउँसो ४ बजेतिर सन्तोष मात्र बाहिरिएको दृश्य सीसीटीभी फुटेजमा देखिएको छ। त्यसपछि ललिता हराएको भन्दै उनका भाइले २८ साउनमा प्रहरीमा निवेदन दिएका थिए।

तीन दिनपछि होटल कोठाबाट दुर्गन्ध आउन थालेपछि सञ्चालकले प्रहरीलाई खबर गरेकी थिइन्। कोठा खोलेर हेर्दा बक्स पलङभित्र कपडा कोचिएको अवस्थामा शव फेला परेको थियो।

विवादपछि घाँटी थिचेर हत्या

पक्राउ परेका सन्तोषले होटलमा २–३ घण्टा कुरा गरेपछि विवाद भएको र त्यसै क्रममा घाँटी थिचेर हत्या गरी शव लुकाएको प्रहरीसमक्ष स्वीकार गरेका छन्। हत्या पश्चात् उनले आफैं परिवारलाई श्रीमती हराएको भन्दै खोज्न लगाएका थिए।

सन्तोषलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, आइतबार  ६ : २३ बजे