सरस्वती बुढा
सुर्खेत, भदौ १
मुगुस्थित छायानाथ रारा नगरपालिका–१० तल्ले गाउँ नजिकै बग्ने खोलाले लगातार कटान गर्दा बस्ती जोखिममा परेको छ। तीन वर्षदेखि निरन्तर कटान गर्दै आएको खोलाले हाल बालीसहित खेतबारी बगाउँदा किसान खाद्यान्न अभावको चिन्तामा परेका छन्।
“बाली त खोलाले बगायो, अब त बाँच्ने आधार नै हराउँदै गएको छ,” एक स्थानीयवासीले राष्ट्रसरोकारसँग दुखेसो पोखे।
खोलाको बहाव बढ्दै खेतबारी कटान भएपछि अहिले बस्ती नै जोखिममा परेको गाउँलेहरूको भनाइ छ। दैनिक जनावर चराउन जंगल जानु, घाँस–दाउरा काट्न जाने काम पनि असुरक्षित बनेको उनीहरूले बताए। “बिहान जनावर चराउन लैजानुपर्छ, बेलुका फर्काउनुपर्छ, तर खोला र पहिरोले लगिदेला भन्ने डरले हरेक दिन त्रास हुन्छ,” अर्का स्थानीयले भने।
स्थानियवासीले पटक–पटक तटबन्धनको माग गरे पनि अहिलेसम्म कुनै निकायले चासो नदिएको उनीहरूको गुनासो छ। “हामीले धेरैपटक माग गर्यौं तर अहिलेसम्म कसैले सुनुवाइ गरेको छैन,” गाउँलेहरूले भने।
खेतबारी हराउँदै गएको र दैनिक जीवन असुरक्षित बनेको भन्दै बासिन्दाले तत्काल तटबन्धन निर्माणका लागि सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। उनीहरूको भनाइमा ढिलाइ भए बस्ती नै खोलाले बगाउने अवस्था आउन सक्छ।
प्रतिक्रिया