२ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा पहिलोपटक बौद्ध शिक्षा पढाइ सुरु



सरस्वती बुढा
सुर्खेत, भदौ ३

मुगु जिल्लामा पहिलोपटक बौद्ध शिक्षा पढाइ हुने भएको छ।

मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङपुकमा निर्मित ओर्गेन ढोदुल लिङ गुम्बा बाट आधारभूत तहको बौद्ध शिक्षा सुरु हुन लागेको हो। यसअघि लामा समुदायका बालबालिकाले बौद्ध शिक्षा अध्ययनका लागि काठमाडौंसहित देशका अन्य स्थान तथा भारतसम्म जानुपर्ने बाध्यता थियो।

मुगुम कार्मारोङ गाउँपालिकाका ९ वडाका १७ बस्तीमा लामा समुदायको बाक्लो बसोबास छ। हरेक वर्ष ५० देखि १०० जना बालबालिकाले गाउँ बाहिर बौद्ध शिक्षा अध्ययन गर्नुपर्ने अवस्था रहँदै आएको थियो।

रिम्वोच्चे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्वोच्चे खाण्डो पेमा छोईडेलको आर्थिक सहयोगमा निर्माण भएको गुम्बामा अब बालबालिकाले गाउँमै बसेर बौद्ध शिक्षा पढ्न पाउने भएका छन्। सात वर्षअगाडि सुरु भएको गुम्बा निर्माण सम्पन्न भएपछि अहिले बौद्ध शिक्षा पढाइ समेत सुरु गर्न लागिएको हो।

‘राज्यले बौद्ध शिक्षाप्रति कुनै व्यवस्था नगरेको अवस्थामा दुर्गम गाउँपालिकामै शिक्षा सुरु हुनु गर्वको कुरा हो,’ स्थानीय धर्मगुरुहरुले भनेका छन्। उनीहरुले आधारभूत तहमा सुरु भएको पढाइलाई थप स्तरीय बनाउन राज्यका निकायले समेत जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति : २ भाद्र २०८२, मंगलबार  १ : ३४ बजे