भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उल्लासपूर्वक मनाइँदैछ। देवादिदेव महादेव र माता पार्वतीको पूजा–आराधना गरी महिलाहरूले व्रत बस्ने परम्परा यस दिन विशेष रुपमा रहिआएको छ।
धार्मिक विश्वासअनुसार, यस दिन निराहार वा फलाहार व्रत बसेर शिव–पार्वतीको पूजा गर्दा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। सत्ययुगमा हिमालयकन्या पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई वरका रूपमा प्राप्त गरेकी स्मरणमा यो पर्वको सुरु भएको मानिन्छ।
कथाअनुसार पार्वतीको इच्छाविपरीत उनका पिता हिमालयले विष्णुसँग विवाह गराउन खोजेपछि, उनका साथीहरूले उनलाई अपहरण गरी सुरक्षित स्थानमा लुकाएका थिए। त्यही ठाउँमा पार्वतीले कठोर व्रत गर्दै महादेवलाई पति पाएकी थिइन्। सोही दिन भाद्र शुक्ल तृतीया भएकाले यसै दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा स्थापित भएको धार्मिक मत पाइन्छ।
संस्कृतका ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी) शब्दबाट बनेको ‘हरितालिका’ नाम नै यस पर्वको उत्पत्तिसँग जोडिन्छ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार तीज व्रत केवल श्रीमान्को दीर्घायुका लागि मात्र नभई अटल सौभाग्य, सन्तान प्राप्ति तथा अविवाहित युवायुवतीले असल जीवनसाथीको कामनाका लागि पनि बस्ने चलन छ। उनका अनुसार व्रत निराहार, जलाहार र फलाहार गरी तीन प्रकारले बस्न सकिन्छ। स्वास्थ्यका कारण निराहार व्रत बस्न नसक्नेहरूले जलाहार वा फलाहार गरेर पनि व्रत बस्न सक्ने बताइन्छ।
धर्मशास्त्रीहरूको व्याख्यामा तीज व्रत कुनै विभेदकारी परम्परा नभई परिवारको समग्र सुख, शान्ति र कल्याणसँग जोडिएको धार्मिक अभ्यास हो। आत्मावादी र ईश्वरवादी दुवै दृष्टिकोणका मानिसले यो पर्वमा सहभागी हुने गरेका छन्।
समग्रमा, मनोकामना पूर्ति र परिवारको यो लोक तथा पारलौकिक कल्याणका लागि हरितालिका तीज विशेष धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको पर्वका रूपमा देशभर मनाइँदै आएको छ।
प्रतिक्रिया