काठमाडौं, भदौ १३। नेपाल सरकारले नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठता र कार्यसम्पादन क्षमताका आधारमा खापुङलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
वर्तमान आईजीपी धिरजप्रताप सिंह आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जान लागेका छन्। त्यसपछि भदौ १९ गतेदेखि खापुङले नयाँ जिम्मेवारी सम्हाल्नेछन्।
लामो समय प्रहरी सेवामा योगदान पुर्याएका खापुङको नाम “ईमानदार र अनुभवी अधिकारी”का रूपमा परिचित छ। उनले अपराध अनुसन्धान, शान्ति सुरक्षाको व्यवस्थापन तथा संगठनलाई आधुनिक प्रविधि–मैत्री बनाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए।
स्रोतका अनुसार खापुङलाई नियुक्त गर्ने निर्णय नेपाल प्रहरी ऐन र नियमावलीअनुसार गरिएको हो। उनी करिब ७१ दिनका लागि प्रहरी प्रमुख रहनेछन्।
खापुङले नियुक्तिपछि प्रहरी संगठनलाई अझ जनमैत्री, पारदर्शी र परिणाममुखी बनाउन प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकार तथा सरोकारवालाहरूले नयाँ नेतृत्वले अपराध नियन्त्रण, सीमा सुरक्षाको बलियो निगरानी र सुशासन प्रवर्द्धनमा ठोस भूमिका खेल्ने अपेक्षा राखेका छन्।
प्रतिक्रिया