मुगु,। सोरु गाउँपालिका–८, रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको घरमै सुत्केरी भएपछि मृत्यु भएको छ।
सुनिताले छोरा जन्माए पनि सालनाल नझरेपछि उनलाई उपचारका लागि एक घण्टा टाढा रहेको सिप प्रसूति केन्द्र पुर्याइएको थियो। अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएकी उनलाई बुधबार राति १० बजे मात्रै अस्पताल पुर्याइएको थियो। तर अवस्था जटिल हुँदै गएपछि बिहीबार दिउँसो ३ बजे उपचारकै क्रममा उनको मृत्यु भयो।
आमा गुमाएपछि दुई दिनको शिशु आमाबिहीन बनेको छ।
सुनिताका श्रीमान् लालबहादुर रावल गाउँकै कुल देवताको धामी भएकाले गाउँ बाहिर जान सक्दैनन्। घरमा १२ वर्षको दाजु, ९ वर्षकी दिदी, वृद्ध बाजे–बज्यै र आमाबिहीन नवजात मात्रै छन्।
“बुहारी बाँच्छिन्, नातिले आमाको माया पाउँछ भन्ने ठूलो आशा बोकेर अस्पताल पुगेको थिएँ,” शिशुका हजुरबुवा नन्दसिंह रावलले भने, “तर फर्कँदा काँधमा बुहारीको शव थियो, हातमा नाति।”
जन्मेदेखि आमाको दूध नपाएको शिशुलाई अहिले फुपुले दूध खुवाइरहेकी छिन्। तर आफ्नै दुई वर्षको बच्चालाई समेत पर्याप्त दूध पुग्न नसकेको अवस्थामा भतिजोलाई खुवाउने चुनौती उनीमाथि छ।
जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा तत्काल रगत जुटाउन नसकिएको चिकित्सकहरूले बताएका छन्। सामाजिक सञ्जालमार्फत आग्रहपछि पाँच जना युवाले रगत उपलब्ध गराए पनि उनको अवस्था जटिल बन्दै गएको थियो। हेलिकप्टरमार्फत थप उपचारका लागि लैजाने तयारी भइरहेकै बेला उनको जीवनको दियो निभेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया