काठमाडौ। देशभर सहकारी क्षेत्रमा संकट गहिरिँदै गएको बेला काठमाडौंको बौद्धस्थित आमा बचत तथा ऋण सहकारी संस्थाले भने पारदर्शी सेवा र कुशल व्यवस्थापनका कारण निरन्तर प्रगति हासिल गरेको छ।
हाल सहकारीहरू ठगी प्रकरण, सञ्चालकहरू फरार हुनु र बचतकर्ताले रकम नपाउनुजस्ता समस्याबाट ग्रस्त भइरहेका छन्। तर, आमा सहकारीले सुरुदेखिनै सदस्यमैत्री सेवा र जिम्मेवार वित्तीय प्रणालीलाई प्राथमिकतामा राखी आफ्नो अलग पहिचान कायम राख्न सफल भएको छ।
बौद्ध क्षेत्रका व्यवसायी र स्थानीयवासीले सञ्चालन गरेको यस सहकारीमा पछिल्ला दिनमा सदस्यता लिने र कारोबार गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ। अध्यक्ष रामबहादुर कट्वालका अनुसार आमा सहकारी जिम्मेवार र पारदर्शी वित्तीय संस्थाका रूपमा विकास भएकाले सदस्यहरूको पहिलो रोजाइ बन्न सकेको हो। उनले भने, “अन्य सहकारीहरू बन्द भइरहेका बेला आमा सहकारीको सदस्य र कारोबार दुवै बढेको छ। संस्थालाई अझ व्यवस्थित र प्रगतिशील बनाउन नयाँ योजनासहित अघि बढिरहेका छौं।”
पुँजी वृद्धि र कारोबार विस्तार
कोषाध्यक्ष केदार कट्वालका अनुसार आमा सहकारीको कुल पुँजी १३ करोड ४० लाख ३ हजार ५ सय ६० रुपैयाँ पुगेको छ। हाल ३ हजार ७७ सदस्यले नियमित रूपमा सेवा लिइरहेका छन्।
व्यवस्थापक सुजन लामीछानेले पछिल्लो एक वर्षमा सदस्य संख्या र कारोबार दुवैमा उल्लेख्य वृद्धि भएको जानकारी दिए।
सचिव सुरेश काफ्लेले सहकारी क्षेत्रका नकारात्मक धारणा तोड्न आमा सहकारी उदाहरणीय बनेको बताए। उनका अनुसार सदस्यहरूको प्रत्यक्ष सहभागिता र सुझावका आधारमा काम गर्दै आएको आमा सहकारी भिन्न पहिचानसहित अघि बढिरहेको छ।
तेस्रो साधारणसभा सम्पन्न

हालै सम्पन्न तेस्रो साधारणसभामा आर्थिक, सांगठनिक प्रतिवेदन र आगामी कार्यक्रम प्रस्तुत गरिएको थियो। बौद्धमा आयोजित साधारणसभामा प्रोजेक्टरमार्फत सहकारीको प्रगतिप्रतिवेदन र कार्ययोजना सार्वजनिक गरिएको थियो।
सदस्यहरूको व्यक्तित्व विकासका लागि चेतनामूलक सत्र, आम्दानी-खर्च अनुमोदन र आगामी कार्यक्रम पारित गरियो।
आमा सहकारीले यस वर्ष एसइईमा उत्कृष्ट अंक ल्याउने सदस्य सन्तानलाई सम्मानसमेत गरेको छ। विक्रम संवत २०६५ बैशाख १३ गते स्थापना भएको यो संस्था हाल १८ औं वर्षमा प्रवेश गरेको छ।

नमूना सहकारीतर्फको यात्रा
बौद्ध क्षेत्रमा व्यवसायी र उद्यमीहरूको साझा संस्था बनेको आमा सहकारी सदस्यहरूको आर्थिक सशक्तीकरणमा आमा सरहको भूमिका निर्वाह गर्दै आएको छ।
सदस्यहरूले सानो ऋण लिएर ठूला व्यवसाय सञ्चालन गर्दै मनग्य आम्दानी गरिरहेका छन्। बचतमा आकर्षक व्याज, सहज ऋण सुविधा र प्रविधिमैत्री सेवाका कारण सदस्यहरू निर्धक्क कारोबार गरिरहेका छन्।

सहकारी सिद्धान्त, मूल्य र सरकारी मापदण्डअनुसार चलेको आमा सहकारीले सानो बचतलाई पनि ठूलो अवसरमा परिणत गर्दै आएको छ।
संस्थापक अध्यक्ष टंकप्रसाद लुईंटेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सहकारीलाई अझ व्यवस्थित र देशकै नमूना सहकारीमा परिणत गर्न सुझाव दिएका थिए।
प्रतिक्रिया