१८ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु, कमाइ सिधै बैंक खातामा



काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। अब नेपाली कन्टेन्ट क्रिएटरहरूले फेसबुकमार्फत कमाएको आम्दानी सजिलै नेपालकै बैंक खाताबाट प्राप्त गर्न सक्ने भएका छन्।

मेटाले ईमेलमार्फत प्रयोगकर्तालाई यो सुविधा नेपालमा आधिकारिक रूपमा सुरु भएको जानकारी दिन थालेको छ। यससँगै नेपाली कन्टेन्ट क्रिएटरका लागि आम्दानीको नयाँ ढोका खुलेको छ।

प्रविधि क्षेत्रमा सक्रिय राजेन्द्र अर्यालका अनुसार उनले मेटा टिमसँग सम्पर्क गर्दा नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको पुष्टि भएको हो।

मेटाले दिएको आधिकारिक जवाफमा भनिएको छ, “हो, नेपाली कन्टेन्ट क्रिएटरले फेसबुकको कन्टेन्ट मनिटाइजेसनबाट प्राप्त हुने रकम आफ्नै स्थानीय बैंक खातामार्फत लिन सक्नेछन्। कम्पनीले यो सुविधा औपचारिक रूपमा सुरु गरिसकेको छ र नेपाली बैंक खातामा सिधै भुक्तानी पठाउन थालेको छ।”

अब मनिटाइजेसनका लागि योग्य भएका प्रयोगकर्ताले पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक खाताको विवरण भरेपछि कमाइ सजिलै बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

अर्यालले भने, “यसअघि पनि केही नेपाली कन्टेन्ट क्रिएटरहरूले विभिन्न माध्यममार्फत बैंक खाता लिंक गरेर आम्दानी गर्दै आएका थिए। तर कम्पनीले नै औपचारिक रूपमा यो सेवा सुरु गरेपछि प्रक्रिया निकै सजिलो र सुरक्षित भएको छ। अब ढुक्क भएर नेपाली बैंक खाता लिंक गरी आम्दानी गर्न सकिन्छ।”

यसअघि फेसबुकले सीमित क्रिएटरलाई तीन वटा फरक कार्यक्रममार्फत भुक्तानी गर्दै आएको थियो – इनस्ट्रिम एड्स (लामो भिडिओमा देखिने विज्ञापन), एड्स अन रिल्स (रिल्समा देखिने विज्ञापन) र पर्फमेन्स बोनस (पोस्टका आधारमा दिइने बोनस)। तर ३१ अगस्टदेखि यी सबै कार्यक्रमलाई एकीकृत गर्दै ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’मा समेटिएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८२, मंगलबार  ८ : ४४ बजे