हेटौंडा, १९ भदौ। बागमती प्रदेश सरकारले भक्तपुरको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा सहभागी हुने व्यक्तिलाई प्रोत्साहनस्वरूप २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साहसिक र सांस्कृतिक सम्पदा संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।
बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ व्यवस्थापनसम्बन्धी विधेयक स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णयसमेत गरेको छ।
त्यसैगरी, बैठकले राजनीतिक, प्रशासनिक तथा विधेयक, र आर्थिक तथा पूर्वाधार समितिहरू गठन गरेको छ। साथै, १० लाख रुपैयाँभन्दा माथिका योजना अबदेखि ठेक्का प्रक्रियाबाट मात्र कार्यान्वयन हुने व्यवस्था गर्ने निर्णय पनि गरेको छ।
प्रदेश सरकारले प्रशासनिक संरचना निर्माणस्थलमा रुख कटानका लागि करिब ४ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ भने सहकारी तथा गरिबी निवारण मन्त्रालयमा खुबीराम अधिकारीलाई सचिवका रूपमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको छ।
प्रतिक्रिया