२१ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलोपल्ट प्रदर्शनमा उत्रिँदै जेन–जी



काठमाडौ । नेपालमा दर्ता हुन नमानेका सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गर्ने सरकारी निर्णयको विरोधमा भोलि (सोमबार) जेनेरेसन जेड अर्थात् जेन–जीहरूले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्तासँगै केही राजनीतिक माग पनि अघि सारेका छन् । त्यसैले पनि जेन–जीका लागि यो पहिलो र ऐतिहासिक प्रदर्शन हुनेछ । नेपालमा राजनीतिक मुद्दामा पछिल्लो समय जेन–जीले चासो राख्ने र टिप्पणी गर्न थालेको सन्दर्भमा सडकमै हुन लागेको आन्दोलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

को हुन् जेन–जी ?

सन् १९९७ देखि २०१२ का बीचमा जन्मेको पुस्तालाई नै जेनेरेसन जेड भनिएको हो । यो पुस्तालाई ‘जुमर’ वा जेन–जी पनि भनिन्छ । जेन जेडलाई पहिलो ‘डिजिटल न्याटिभ’ पुस्ता मानिन्छ । यो भनेको, पश्चिमी देशहरूमा इन्टरनेट युगमा हुर्केको पहिलो पुस्ता उनीहरू नै हुन् । त्यसैले सामाजिक सञ्जालमा जेन–जीहरूको उपस्थिति व्यापक देखिन्छ । उनीहरू सामाजिक सञ्जालमा निपुण हुन्छन् । चर्चित मिम वा ट्रेन्डहरू सुरु गर्ने समूह पनि यही हो ।

अनलाइन व्यापक प्रभाव पार्ने यो पुस्ता अघिल्ला पुस्ताको तुलनामा कम रसरमाइलो गर्ने अध्ययनले देखाएको छ । युगोभको १८ देखि २४ वर्षका युवाहरूमा गरिएको एक सर्वेक्षणअनुसार ३९ प्रतिशतले रक्सी नपिउने बताएका छन् । यसले जेन जेडलाई सबैभन्दा संयमित पुस्ता देखाउँछ । 

महामारी र लकडाउनका दीर्घकालीन प्रभावदेखि स्वास्थ्य र लोक कल्याणप्रति बढ्दो सचेतना र सामाजिक सञ्जालका कारण बार र क्लबमा जानुपर्ने आवश्यकतालाई घटाउनुसम्मलाई यसको कारण मानिएको छ । 
जेन जेड पढाइमा पनि बढी केन्द्रित देखिन्छन् । अमेरिकाको पिउ रिसर्च सेन्टरको एक अध्ययनले जेन जेडले अघिल्लो पुस्ताभन्दा उच्च अंक ल्याउन बढी ध्यान दिने गरेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका ९० प्रतिशतले विद्यालयमा राम्रो प्रदर्शन गर्ने दबाब महसुस गरेका छन् । 

तपाईं कुन पुस्तामा पर्नुहुन्छ ?

तल कुन समयमा जन्मेका पुस्तालाई के भनेर चिनिन्छ भन्ने सूची दिइएको छः 

जेनेरेसन बेटा: सन् २०२५ पछि जन्मेकाहरू ।

जनेरेसन अल्फाः सन् २०१३ देखि २०२५ को बीचमा जन्मेकाहरू ।

जेनेरेसन जेडः सन् १९९७ देखि २०१२ सम्म जन्मेकाहरू ।

मिलेनियल्सः सन् १९८१ देखि १९९६ सम्म जन्मेकाहरू । 

बेबी बुमर्सः सन् १९४६ देखि १९६४ सम्म जन्मेकाहरू ।

साइलेन्ट जेनेरेसनः सन् १९२८ देखि १९४५ सम्म जन्मेकाहरू । 

ग्रेटेस्ट जेनेरेसन: सन् १९०१ देखि १९२७ सम्म जन्मेकाहरू ।

लस्ट जेनेरेसनः सन् १८८३ देखि १९०० सम्म जन्मेकाहरू । 

प्रकाशित मिति : २१ भाद्र २०८२, आइतबार  ८ : ४३ बजे