काठमाडौं । अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले देशभर पानी परेको छ। कोशी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको झापाको केचनामा गत २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा मापन भएको छ। दमकमा ९२.८ र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा भएको छ।
उदयपुरको गाईघाटमा एकै घण्टामा ५४.६ मिलिमिटर पानी पर्यो। विभागका अनुसार एक घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा भए भारी मानिन्छ। बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा र रङ्सिङलगायतका ठाउँमा पनि वर्षा भएको छ।
वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरिरहेकाले अझै दुई–तीन दिन वर्षा हुने सम्भावना छ।
‘पूर्वी तराईमा ठूलो वर्षा हुनसक्छ,’ उनले भनिन्, ‘देशभर एकनास पानी पर्ने होइन, तर केही ठाउँमा भारी वर्षा हुनेछ।’
प्रतिक्रिया