नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मुलुकमा प्रतिगमनकारी शक्तिहरुले संविधानलाई मास्न खोजिरहेको भन्दै,यसलाई जोगाउन सबै लाग्नुपर्ने बेला आएको बताएका छन।
संविधान दिवसको अवसरमा गृहजिल्ला नुवाकोटको क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै उनले शान्तिपुर्ण भनिएको जेने-जी आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणलाई अमानवीय र खेदजनक भन्दै घोर भत्सर्ना गरे। उनले कांग्रेसका नेता र कार्यकर्तामाथि भएको साङ्घातिक आक्रमण सुनियोजित रहेको र यसमा संलग्न संविधान विरोधी तत्वहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।
पूर्वमुख्यमन्त्री लामाले भने, “राजनीतिक व्यवस्थाका सबै अंग र नेताका निजी घर तथा सम्पत्तिमा भएको आगजनी, तोडफोड र विध्वंस गर्ने जो–कोहीमाथि कानुनी कारबाही हुनेछ। टेक्नोलोजी र कुकुरले कहिल्यै झुटो बोल्दैन जो कोहिले गलत गरेको छ, कानुनी कठघरामा उभिनैपर्नेछ।
उनले नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान खतरामा रहेको भन्दै, यसलाई जोगाउने र संरक्षण गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको दोहोर्याए। फरक प्रसङ्गमा उनले पार्टीको विधान अनुसार तत्काल महाधिवेशन सम्भव नभएको बताउँदै, नेतृत्व चयनको टुंगो विशेष महाधिवेशनबाट लगाउनुपर्ने धारणा राखे।
प्रतिक्रिया