४ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैंको मुखमा राजमार्ग बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह



काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनः सुरु गरिएको छ । मुग्लिन र नारायणगढ दुबै तर्फबाट मेसिन परिचालन गरी सडक सफा गर्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यद्यपि ढुंगा झर्ने क्रम अझै रोकिएको छैन । थप पहिरो नखस्ने हो र कार्य निरन्तर रूपमा चल्न सके छिट्टै सडक आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालयले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने तुइन खोलामा शुक्रबारदेखि लगातार पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि सडक पूर्ण अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । अहिले पनि राजमार्गको दुवैतर्फ लामो लाइन लागेका सवारी साधन रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीले अलपत्र यात्रुहरूको सहजीकरणका लागि खाना–पानीको व्यवस्था गरेको छ भने राजमार्ग वरपरका व्यवसायीलाई पनि सहयोग गर्न अपिल गरिएको छ ।

वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

दशैं नजिकिँदै गर्दा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सम्बन्धित निकायलाई तत्काल राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार यात्रुहरूले वैकल्पिक बाटो प्रयोग गर्न सक्नेछन् । विकल्पमा नौबिसे–दामन–हेटौंडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट हुँदै जाने कालीगण्डकी करिडोर प्रयोग गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, आइतबार  ९ : १० बजे