५ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि दसैँ सुरु, घरघरमा घटस्थापना गरिँदै



काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै प्रारम्भ भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेशसहित दुर्गा देवीको आह्वान गरी पूजा सुरु गर्ने परम्परा छ।

आज बिहान ९:१३ बजे शुभसाइतमा पूजाकोठा वा दसैँघरमा कलश स्थापना गरी जमरा राखिएको छ। वैदिक विधिअनुसार जौ रोपेर विजया दशमीका दिन देवीलाई चढाई समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ।

नवरात्रका नौ दिनमा नौ रूपकी दुर्गाको पूजा गर्ने परम्परा छ। सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी विशेषरूपमा मनाइन्छ। असोज १६ गते बिहान ११:५३ बजे विजया दशमीको टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा पनि आजैदेखि वैदिक विधिअनुसार घटस्थापना गरी विशेष पूजा सुरु भएको छ। महानवमीका दिन त्यहाँ परम्पराअनुसार ५४ बोका र ५४ राँगाको बलि दिने चलन छ।

बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कारणले घरबाहिर रहेका मानिस दसैँ मनाउन स्वदेश र आफ्नो घर फर्कने क्रम बढेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, सोमबार  ९ : २० बजे