१४ आश्विन २०८२, बुधबार | Wed Oct 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठ दिनमै पाँच लाखभन्दा बढीले छाडे काठमाडौं



काठमाडौं । दसैं मनाउन उपत्यकाबाट बाहिरिनेको संख्या दिनानुदिन बढ्दै गएको छ। घटस्थापनादेखि मंगलबार बेलुकीसम्म आठ दिनमा ५ लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि मंगलबारसम्म यति संख्यामा यात्रु विभिन्न नाकाबाट उपत्यका बाहिरिएका हुन्। पछिल्लो २४ घण्टामात्रै ८५ हजार २८४ जनाले उपत्यका छाडेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार यात्रुको चाप बढेसँगै नाकाहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको छ। उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन्। ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ।

चाडपर्वमा लामो दूरीका चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा मात्र सवारी चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न प्रहरीले आग्रह गरेको छ।

पछिल्लो २४ घण्टामा मात्र १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। घटस्थापनादेखि हालसम्म एक लाख ८९ हजार सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्।

त्यस्तै, उपत्यकामा ७२ हजार ४१ सवारीसाधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन्। विशेषगरी कोटेश्वर, कलंकी, बल्खु, नयाँबसपार्क र जगती नाकामा यात्रुको भीड बढी देखिन्छ।

राजधानी बाहिरिने यात्रुको मुख्य साधन सार्वजनिक बस भए पनि निजी सवारी र पर्यटक बसको प्रयोग गर्ने संख्या पनि उल्लेख्य रहेको छ। दसैं नजिकिँदै जाँदा गाउँतिर पारिवारिक भेटघाट, दुर्गा पूजाको तयारी र टीका ग्रहणको वातावरण तात्दै गएको छ। राजधानीमै भने सवारी चाप घटेपछि सडक तुलनात्मक रूपमा फुर्सदिला देखिन थालेका छन्।

प्रकाशित मिति : १४ आश्विन २०८२, बुधबार  ७ : ५६ बजे