काभ्रेपलाञ्चोक । लगातारको वर्षासँगै रोशी खोलाको सतह तीव्र गतिमा बढेपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार रोशी खोलामा पानीको बहाव अत्यधिक बढेको, विभिन्न ठाउँमा खहरे खोलाबाट लेदो बगाएको र केही स्थानमा ढुंगामाटो राजमार्गमा खसेका कारण तत्कालका लागि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।
मौसमविद्को पूर्वानुमान अनुसार शुक्रबार दिउँसो ११ बजेदेखि अझै तीव्र वर्षा हुने सम्भावना भएकाले थप तयारीका लागि जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइएको ढकालले जानकारी दिए।
धुलिखेल हुँदै जाने सवारीहरू अहिले काभ्रेभन्ज्याङ र भकुण्डे क्षेत्रमा रोकिएका छन् भने, सिन्धुलीबाट आएका सवारी साधनहरू नेपालथोक र खुर्कोट नजिकै थुनिएका छन्। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाको बाढीसँगै रोशी–९ को पिन्थली र विरुवाडाँडा क्षेत्रमा लेदो झरेको तथा माम्ती क्षेत्रमा ढुंगा खसेको छ।
गत वर्षको असोज महिनामा पनि यही खण्डमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो। त्यसबेला सडक बगाएपछि अस्थायी डाइभर्सनमार्फत आवागमन सञ्चालनमा ल्याइएको थियो।
पूर्वी नेपाल जोड्ने छोटो दूरीको यो बीपी राजमार्ग अहिले पुनर्निर्माण अन्तर्गत चार वटा खण्डमा स्थायी संरचना निर्माणको प्रक्रिया अघि बढिरहेको छ।
प्रतिक्रिया