काठमाडौं । देशका विभिन्न क्षेत्रमा लगातारको वर्षा अझै बढ्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गतेसम्म बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने भएकाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागका मौसमविद्हरूका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव अहिले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा फैलिएको छ। यो प्रणाली विस्तार हुँदै पूर्वतर्फ सर्दै गएको र त्यस क्षेत्रका नदी–खोला तथा भेगहरूमा बढी प्रभाव पर्ने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार हाल वर्षा मध्यमदेखि भारी स्तरसम्म पुग्ने क्रममा छ। उनले भने, “यो प्रणाली भोलिसम्म सक्रिय रहनेछ र विस्तारै पूर्वतर्फ सर्दै जानेछ।”
उनका अनुसार अहिले पूर्वी राप्ती, नारायणी, बागमती, कमला र कोशी जलाधार क्षेत्रका नदीहरूमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ। अहिले सतर्कता तह पार नभए पनि आज दिउँसोपछि कमला, बागमती र नारायणीसहितका नदीहरूले सतर्कता तह पार गर्ने र रातिदेखि खतराको तहमा पुग्ने सम्भावना रहेको उनले बताए।
जोखिम क्षेत्रका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र धादिङ जिल्लालाई चिनाइएको छ। विभागका अनुसार यो प्रणाली विस्तारै पूर्वतर्फ बढ्दै जान्छ, भने पश्चिममा नवलपरासीसम्म आंशिक प्रभाव पर्ने अनुमान गरिएको छ।
विभागले सम्भावित जोखिम क्षेत्रका स्थानीय निकाय, सुरक्षा निकाय र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया