काठमाडौं । नेपालभर मनसुन औपचारिक रूपमा अन्त्य भइसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिएको हो। अहिले कुनै विशेष मौसमी प्रणालीको प्रभाव नभए पनि सामान्य प्रभाव भने कायम रहेको छ।
त्यसको असरस्वरूप आज पूर्वी नेपालका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने उल्लेख गरिएको छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी अधिकांश भू–भागमा मौसम सफा रहनेछ।
राति पनि कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य ठाउँमा आकाश खुला रहने सम्भावना छ।
मौसमविद्हरूका अनुसार, मनसुन अन्त्यसँगै देशभर तापक्रम क्रमशः घट्ने क्रम सुरु भइसकेको छ। बिहान र साँझको समयमा चिसो बढ्दै गएको छ भने दिउँसो हल्का घाम लाग्ने सम्भावना रहनेछ।
प्रतिक्रिया