२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँमा झरी निरन्तर, भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना



काठमाडौं । काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ।
बागमती, गण्डकी र तराईका जिल्लामा आज बिहानसम्म मौसम खुल्ने अनुमान गरिए पनि झरी निरन्तर जारी छ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार, मौसमी पूर्वानुमानका तीनवटा मोडेलको संयुक्त अध्ययनले यी प्रदेशहरूमा वर्षा लम्बिनुको कारण पुष्टि गरेको छ।

यी हुन् झरी लम्बिनुका मुख्य कारण

उनका अनुसार, बिहीबारदेखि कमजोर बनेको मोन्सुन प्रणाली सोमबारदेखि पुनः सक्रिय भएको हो।
यो प्रणाली पश्चिमी वायुसँग मिसिँदै ठूलो संयुक्त मौसमी प्रणाली बनेको छ, जसले नेपालका मध्य र पूर्वी भूभागलाई व्यापक रूपमा ढाकेको छ।

उपाध्यायका अनुसार, यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्ने अनुमान गरिएको थियो।
तर बंगालको खाडी नजिकै थाइल्याण्डको दक्षिणी भूभागमा बनेको र हाल बंगलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीले यसलाई उल्टो दिशातर्फ, अर्थात् उत्तर–पश्चिमतर्फ धकेलेको हो।

यसैबीच, अरब सागरबाट अर्को सक्रिय प्रणाली पनि गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अगाडि बढिरहेको छ।
हाल नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको र त्यसले बागमती, गण्डकी र कोशी प्रदेशमा निरन्तर वर्षा गराइरहेको उनले बताए।

उपाध्यायका अनुसार, हावामा जलवाष्पको मात्रा अत्यधिक भएकोले वर्षा रोकिँदा पनि शीत परेजस्तो मसिना पानीका कण झरिरहेका छन्।

अब के हुन्छ?

मौसमविद् उपाध्यायका अनुसार, अबको अवस्थाले ठूलो वर्षा गराउने सम्भावना भने कम छ।
हाल बाढीको जोखिम न्यून रहेको र निकट भविष्यमै सुधार आउने उनले बताए।

उनका अनुसार, धेरै मौसमी प्रणाली मिसिएर जटिल अवस्था बनेकाले यो स्थिति कहिलेसम्म रहने भन्ने निश्चित भन्न कठिन छ।
तर बादलको घनत्व घट्दै गएकाले अबको १२ घण्टाभित्र मौसममा उल्लेख्य सुधार हुने र आज साँझसम्म वर्षा पूर्णरूपमा रोकिने सम्भावना छ।

भोलि बिहानैदेखि देशका धेरै भूभागमा घाम लाग्ने प्रबल सम्भावना रहेको उनले जनाएका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : ३३ बजे