१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फागुन २१ को निर्वाचन सुरक्षाका लागि ८० हजार सेना परिचालन हुने



२४ पुस, काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकार, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रपतिबाट अनुमोदन भइसकेको छ । सोही योजनाअनुसार निर्वाचनको करिब एक महिना अघिदेखि नै सेनाको फौज फिल्डमा परिचालन गरिनेछ ।

निर्वाचन सुरक्षाका क्रममा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा गर्नेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन चारै सुरक्षा निकाय, जिल्ला प्रशासन र स्थानीय तहसँग सहकार्य गर्दै एकीकृत तालिम तथा अभ्याससमेत सञ्चालन गरिने सेनाले जनाएको छ ।

मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचनस्थल तथा केन्द्रको सुरक्षा सम्हाल्नेछ । मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि सेनाले लिनेछ ।

निर्वाचनलाई लक्षित गरी देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गर्ने तयारीसमेत गरिएको छ । हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन् र त्यहाँबाट प्राप्त सुझावका आधारमा सरकारले थप सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।

राज्यको प्राथमिक दायित्वका रूपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिसँग समन्वय गर्दै आफूहरू पूर्ण रूपमा तयार रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १ : ५१ बजे