नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरीले आफ्नो तीन वर्षे संसदीय कार्यकालको विस्तृत प्रगति विवरण (रिपोर्ट कार्ड) सार्वजनिक गर्नुभएको छ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीले त्यसबेला जनतामाझ गरेका ३१ बुँदे प्रतिबद्धतामा के–के काम भए भन्ने तथ्यगत विवरण सार्वजनिक गर्दै मतदातालाई सिधै प्रश्न गर्न आह्वान गर्नुभएको छ।
आसन्न निर्वाचनका लागि पुनः सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएका चौधरीले बिहीबार परासी पुगेर आफ्नो ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुभएको हो। कार्यकाल पूरा नहुँदै संसद विघटन भएकाले केही योजना अधुरा रहेको स्वीकार्दै उहाँले निर्वाचन अघि नै जनताको कठघरामा उभिएर जवाफ दिन तयार रहेको बताउनुभयो।
३१ बुँदे वाचा र मुख्य उपलब्धिहरू
चौधरीले सार्वजनिक गरेको प्रगति विवरणमा १५ वटा ठूला ‘गौरवका आयोजना’ मध्ये १२ वटा कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको दाबी गरिएको छ। ‘बत्तीमुनिको अँध्यारो’ जस्तो अवस्थामा रहेको नवलपरासीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको उदीयमान क्षेत्र बनाउन अहोरात्र खटिएको उहाँको भनाइ छ।
रिपोर्ट कार्डमा उल्लेख गरिएका केही महत्वपूर्ण उपलब्धिहरू यस प्रकार छन्:
- स्वास्थ्य र पूर्वाधार: ट्रमा सेन्टर, औद्योगिक ग्राम, र चौपाटा अस्पतालमा डायलासिस सेन्टरको स्थापना। सरावल र सुस्तामा नयाँ अस्पताल भवन निर्माण। पक्लिहवा र भुजहवामा बर्थिङ सेन्टर सञ्चालन।
- कनेक्टिभिटी: हुलाकी राजमार्ग निर्माणमा तीव्रता, सुस्ताको ऐतिहासिक झोलुङ्गे पुल निर्माण सम्पन्न, र खजुरा पुलको निर्माण।
- सुस्ताको विद्युतीकरण: दशकौंदेखि अन्धकारमा रहेको सुस्तापारि क्षेत्रमा विद्युतीकरण पुर्याउनुलाई उहाँले आफ्नो कार्यकालको महत्त्वपूर्ण सफलता मान्नुभएको छ।
- लालपुर्जा वितरण: सुस्ता क्षेत्रका भूमिहीनको समस्या समाधानका लागि हालसम्म २५० जनालाई लालपुर्जा वितरण गरिएको र बाँकीलाई क्रमशः व्यवस्थापन गर्ने प्रतिबद्धता।
- युवा र उद्यमशीलता: गण्डक नहरमा बालुवा थिग्राउने पोखरी निर्माण र युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सीप विकास तालिमका कार्यक्रमहरू।
“मलाई सिधै प्रश्न सोध्नुस्”
आफ्नो उम्मेदवारी केवल घोषणापत्रमा मात्र सीमित नरहेको बताउँदै चौधरीले भन्नुभयो, “प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं। देश बदल्छौं भनिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ। त्यसैले ३१ बुँदे घोषणापत्रको एक–एक बुँदाको उत्तर लिएर आएको छु, तपाईंहरू मलाई सिधै सोध्न सक्नुहुन्छ।” चौधरीले राजनीतिलाई सेवा र विकासको माध्यम बनाउन आफू सक्रिय रहेको र नवलपरासीलाई ‘विकासको मोडल जिल्ला’ बनाउने सपना अझै बाँकी रहेको बताउनुभयो।
जनताको पहुँचमा रिपोर्ट कार्ड
चौधरीको सचिवालयका अनुसार रिपोर्ट कार्डको डिजिटल प्रति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ। त्यसैगरी, प्रिन्ट गरिएका प्रतिहरू निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालय, पालिका कार्यालय र कांग्रेसको क्षेत्रीय कार्यालयमा उपलब्ध गराइएको छ। मतदाताले आफ्नो वडामा कुन प्रतिबद्धता अनुसार काम भयो वा भएन भनेर त्यहाँ गएर हेर्न सक्ने सचिवालयले जनाएको छ।
विपक्षी खेमाबाट रास्वपाका उम्मेदवार विक्रम खनालसहितका प्रतिस्पर्धीहरूसँग चुनावी मैदानमा रहनुभएका चौधरीले आफ्नो ‘कामको आधारमा मत’ माग्दै मतदातामाझ नयाँ बहस छेड्नुभएको छ।









प्रतिक्रिया