भक्तपुर । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै भक्तपुर क्षेत्र नम्बर २ मा चुनावी ध्रुवीकरण उत्कर्षमा पुगेको छ। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत र नेपाली कांग्रेसका कबिर राणाबीच हुने देखिएको छ। तर, चुनावी मैदानमा देखिएको उत्साह र जनलहरलाई हेर्दा विकासका एजेन्डा बोकेका बस्नेतको स्थिति निकै सुदृढ देखिएको छ।
विकासको ‘इन्जिन’ बनेका महेश बस्नेत
विगतको कार्यकालमा भक्तपुरको मुहार फेर्न अहोरात्र खटिएका महेश बस्नेत यसपटक पनि मतदाताको पहिलो रोजाइमा परेका छन्। हनुमन्ते कोरिडोर निर्माण, आधुनिक सडक सञ्जालको विस्तार, र खानेपानीको समस्या समाधानमा बस्नेतले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। “बोल्ने भन्दा गर्ने नेता” को छवि बनाएका बस्नेतको पक्षमा रहेको सांगठनिक एकता र विकासप्रेमी मतदाताको साथले उनलाई जितको नजिक पुर्याएको विश्लेषण गरिँदैछ। बस्नेतले भक्तपुरलाई ‘नमुना सहर’ बनाउने जुन सपना देखाएका छन्, त्यसलाई जनताले अनुमोदन गर्ने संकेत देखिएको छ।
कांग्रेसका कबिर राणासँगको प्रतिस्पर्धा
यद्यपि मैदानमा कांग्रेसका कबिर राणा पनि सक्रिय छन्। कांग्रेसको परम्परागत भोट र केही पुराना कार्यकर्ताको साथ राणालाई भए पनि बस्नेतको ‘विकासको आँधी’ का अगाडि कांग्रेसको रणनीति सुस्त देखिएको छ। कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र चुनावी अभियानमा देखिएको ढिलासुस्तीले गर्दा राणालाई आफ्नै मत जोगाउन हम्मे-हम्मे परेको छ। तैपनि, एमालेको विकल्पमा आफूलाई उभ्याउन राणाले कसरत गरिरहेका छन्।
रास्वपालाई ‘बाहिरिया’ को ट्याग: स्थानीयको असन्तुष्टि
यसपटकको चुनावमा नयाँ शक्तिका रूपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीका लागि भने भक्तपुर २ निकै चुनौतीपूर्ण बनेको छ। भक्तपुरका रैथाने बासिन्दा नभएको र स्थानीय भूगोल तथा समस्यासँग साक्षात्कार नभएको भन्दै मतदाताहरू खत्रीप्रति निकै असन्तुष्ट देखिएका छन्। “भोट माग्न आउँदा मात्र अनुहार देखाउने तर सुख-दुःखमा नभेटिने बाहिरिया उम्मेदवार हामीलाई चाहिँदैन” भन्दै कतिपय स्थानीय टोलहरूमा त रास्वपाविरुद्ध चर्को आवाज उठ्न थालेको छ। सामाजिक सञ्जालमा चर्चा भए पनि धरातलमा संगठन नहुनु र ‘टुरिष्ट उम्मेदवार’ को छवि बन्नु खत्रीका लागि घातक बन्ने देखिएको छ।
राप्रपा र अन्यको अवस्था
अधिवक्ता विक्रम थापाले राप्रपाबाट स्थानीय पहिचानको मुद्दा उठाए पनि मुख्य प्रतिस्पर्धा भने एमाले र कांग्रेसकै बीचमा खुम्चिएको छ। थापाले बौद्धिक मत काटे पनि निर्णायक मत भने बस्नेत र राणाकै पोल्टामा जाने देखिन्छ।
भक्तपुर २ का मतदाताहरू यसपटक निकै सचेत देखिएका छन्। उनीहरू ‘हावाको लहर’ मा बहिनु भन्दा आफ्नै ठाउँमा भिजेका र विकास गरेर देखाएका नेतालाई छान्ने पक्षमा छन्। बाहिरिया उम्मेदवारको चर्चा फिक्का हुँदै जाँदा र कांग्रेसको सुस्तता बढ्दा, विकासका योजनाकार महेश बस्नेतको विजयी यात्रा झनै सुनिश्चित हुँदै गएको राजनीतिक वृत्तमा चर्चा छ।









प्रतिक्रिया