काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नं. १ को चुनावी मैदान यसपटक निकै रोचक मोडमा पुगेको छ।
परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका सुशील खड्काको ‘घरदैलो अभियान’ले जिल्लामा नयाँ उत्साह र बहस सिर्जना गरेको छ।
बागलुङ नगरपालिका, काठेखोला र गलकोटका गाउँ-बस्तीहरूमा पुग्दा खड्कालाई स्वागत गर्नेहरूमा युवा र वैदेशिक रोजगारीबाट फर्किएकाहरूको बाक्लो उपस्थिति देखिएको छ।
भाषण होइन, ठोस योजना चाहियो भन्ने मतदाताका प्रश्नहरूमा इन्जिनियर र अर्थशास्त्रीको पृष्ठभूमि भएका खड्काले तथ्यपरक र स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने गरेका छन्।
स्थानीय मतदाताहरूका अनुसार, खड्काको सरल र प्रष्ट प्रस्तुतिले गर्दा उनीप्रति आकर्षण बढेको हो। उनी प्रत्येक टोलमा पुगेर शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र कृषि बजार व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिरहेका छन्।
इन्जिनियरिङ र अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरी विदेशमा समेत व्यावसायिक अनुभव बटुलेका खड्काले “आत्मनिर्भर स्थानीय अर्थतन्त्र” को अवधारणा अघि सारेका छन्।
इन्जिनियरका रूपमा पूर्वाधार विकासको प्राविधिक बुझाइ र अर्थविद्का रूपमा लगानीको यथार्थ बुझेका खड्कालाई यस क्षेत्रमा ‘परिपक्व युवा नेतृत्व’का रूपमा हेरिएको छ।
घरदैलोका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घन्टी’लाई “सतर्कताको घण्टी” का रूपमा प्रस्तुत गर्दै सुशासनको वकालत गरिरहेका छन्।
जिल्लाका राजनीतिक विश्लेषकहरूका अनुसार, यसपटक बागलुङ-१ मा परम्परागत दलहरूप्रति केही असन्तुष्टि देखिएको छ, जसको प्रत्यक्ष लाभ नयाँ र स्वच्छ छविका उम्मेदवार खड्कालाई पुग्न सक्छ। खड्काको उम्मेदवारीले पुराना राजनीतिक समीकरणहरूलाई कडा चुनौती दिएको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा बागलुङ-१ का मतदाताले केवल प्रतिनिधि मात्र होइन, आगामी पाँच वर्षको विकासको दिशा पनि रोज्दैछन्। सुशील खड्का जस्तो जुझारु र सक्षम युवा नेतृत्वले चुनावी परिणाममा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ।









प्रतिक्रिया