मकवानपुर जिल्लाको कैलास गाउँपालिकामा गाउँपालिकाको नवौं स्थापना दिवस तथा बीपी स्मृति कैलाश आधारभूत अस्पताल भवन उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको अवसरमा मुख्यमन्त्री बानियाले बीपी स्मृति कैलाश आधारभूत अस्पताल भवनको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई आकर्षक बनाएका थिए। साथै कैलास गाउँपालिकाको गौरवका रूपमा रहेको गाउँपालिका गान पनि सोही कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले कैलास गाउँपालिकाका सम्पूर्ण नागरिकलाई उक्त आधारभूत अस्पतालबाट उपलब्ध हुने सेवाहरूको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले गाउँपालिकाले सञ्चालन गरेका विकास तथा सेवा सम्बन्धी कार्यक्रमहरूमा स्थानीय नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनहरूमा पनि बागमती प्रदेश सरकारबाट कैलास गाउँपालिकाको समृद्धिका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले गाउँपालिकाले स्थापना गरेको आधारभूत अस्पताललाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले अस्पतालबाट विभिन्न स्वास्थ्य सेवाहरू सञ्चालन हुने जानकारी दिँदै स्थानीय बासिन्दालाई सेवा उपभोग गरी कमीकमजोरी सुधारका लागि सुझाव दिन आग्रह गर्नुभयो।









प्रतिक्रिया