१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दा सर्वोच्चमा



१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा परेको छ ।

उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा परेको हो । यसअघि लगातार चार पटकसम्म ‘हेर्न नभ्याइएको’मा परेको यो मुद्दा आजको पेशी सूचीमा १२औँ नम्बरमा राखिएको छ ।

लामिछानेले नेपाली र अमेरिकी गरी दोहोरो राहदानी लिई प्रयोग गरेको आरोप लगाउँदै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिटमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णय गरेकोलाई कानुनविपरीत भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत २०७९ मा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध युवराज पौडेल सर्वोच्च अदालत पुगेका हुन् ।

यसअघि सर्वोच्च अदालतले उक्त मुद्दामा तीन पटक फाइल झिकाउने आदेश दिएको थियो । २२ चैत २०७९ मा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले कारण देखाउ आदेश जारी गर्दै राहदानी विवादमा मुद्दा नचलाउने निर्णय किन गरिएको हो भन्नेबारे महान्यायाधिवक्ता कार्यालयसँग स्पष्टीकरण माग गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयबाट सो सम्बन्धी निर्णय प्राप्त भएपछि अहिले उक्त मुद्दामा थप सुनुवाइ प्रक्रिया अघि बढ्न लागेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : ५७ बजे