रोयटर्स र इप्सस ले संयुक्त रूपमा गरेको एक सर्वेक्षणले अधिकांश अमेरिकी नागरिक इरानसँग जारी युद्ध चाँडै अन्त्य हुनुपर्ने पक्षमा रहेको देखाएको छ ।
सर्वेक्षणअनुसार करिब दुई तिहाइ अमेरिकीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प को उद्देश्य पूरा भए पनि नभए पनि युद्ध अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
त्यसैगरी २७ प्रतिशतले भने लक्ष्य पूरा नभएसम्म युद्ध जारी राख्नुपर्ने बताएका छन् भने ६ प्रतिशतले कुनै प्रतिक्रिया दिएका छैनन् ।
सर्वेक्षणले सत्तारूढ रिपब्लिकन पार्टी समर्थकहरूभित्र पनि मत विभाजन देखिएको छ । ट्रम्प समर्थकहरूमध्ये ४० प्रतिशतले लक्ष्य पूरा नभए पनि युद्ध अन्त्य गर्नुपर्ने बताएका छन् भने ५७ प्रतिशतले दीर्घकालीन संलग्नताको पक्ष लिएका छन् ।
करिब एक महिनादेखि जारी युद्धले मध्यपूर्व क्षेत्रमा ठूलो प्रभाव पारेको छ । संघर्षका कारण हजारौं मानिसको ज्यान गएको छ भने विश्व अर्थतन्त्रमा पनि दबाब बढेको बताइएको छ ।
ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिले मुद्रास्फीति बढ्ने चिन्ता समेत बढाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशतले इरानमाथि अमेरिकाले गरेको सैन्य आक्रमणप्रति असहमति जनाएका छन् भने ३५ प्रतिशतले मात्रै समर्थन गरेका छन् ।
युद्धको प्रभावस्वरूप अमेरिकामा पेट्रोलको मूल्य तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ । प्रतिग्यालन ४ डलरभन्दा माथि पुगेको मूल्यले उपभोक्तामाथि थप दबाब सिर्जना गरेको बताइएको छ ।
सर्वेक्षणमा सहभागी दुई तिहाइ व्यक्तिहरूले एक वर्षभित्र इन्धनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् । रिपब्लिकन मतदातामध्ये पनि ४० प्रतिशतले मूल्य वृद्धि हुने आकलन गरेका छन् ।
त्यसैगरी आधाभन्दा बढी सहभागीले युद्धले आफ्नो व्यक्तिगत आर्थिक अवस्थामाथि नकारात्मक प्रभाव पार्ने बताएका छन् । यसमा ३९ प्रतिशत रिपब्लिकन समर्थक पनि समावेश छन् ।
आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि यस्तो जनमतले ट्रम्प प्रशासनमाथि थप राजनीतिक दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ ।
उक्त सर्वेक्षणमा १ हजार २१ जनाले सहभागिता जनाएको रोयटर्स ले जनाएको छ ।









प्रतिक्रिया