काठमाडौंमा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको हक अधिकारका निम्ति ‘गौरव यात्रा’ आयोजना गरिएको छ । प्रत्येक वर्ष ईश्वी संवत् अनुसार जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ ।
नेपालमा पनि क्वयेर युथ ग्रुपको संयोजनमा २०७६ साल देखि जुन महिनाको दोस्रो शनिबार पारी गौरव यात्रा आयोजना हुँदै आएको छ । २०७७ र २०७८ सालमा भने कोरोना महामारीका कारण अनलाइनमार्फत गौरव यात्राको आयोजना गरिएको थियो ।
शनिबार माइतीघरमा भेला भएर मण्डला परिक्रमा गरी नयाँ बानेश्वरको एभरेस्ट होटेल अगाडि पुगेर कार्यक्रम टुंग्याइएको थियो । र्यालीमा विभिन्न भाषामा लैंगिक तथा अल्पसंख्यक समुदायका अधिकारलाई सम्बोधन गरिनुपर्ने मागसहितका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूले सामाजिक लाञ्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गरेको क्वयेर युथ ग्रुपकी कार्यकारी निर्देशक रुक्शना कपाली बताउँछिन् ।
प्रतिक्रिया