हालैका वर्षहरूमा हामीले “बादल फाटेर ठूलो क्षति” भन्ने समाचार बारम्बार सुन्दै आएका छौँ।
गत हप्ता मात्र भारतको जम्मु–कश्मीरको पहाडी क्षेत्रमा ठूलो विपत्ति आयो। अचानक एकैछिनमा आकाश कालो भयो र केही मिनेटमै असमान्य वर्षा सुरु भयो। स्थानीय मानिसहरूलाई सुरुमा सामान्य वर्षा जस्तो लाग्यो, तर केही मिनेटमै नदी उफ्रियो, घर बगायो, खेत–बारी जलमग्न भए। यस घटनामा धेरैको ज्यान गयो, सम्पत्ति र जनजीवनमा ठूलो क्षति भयो। विज्ञहरूले यसलाई “बादल फाट्नु” भने।
कतिपय ठाउँमा बाढी, पहिरो, जनधनको ठूलो नोक्सानी भएको छ। तर वास्तवमा बादल फुट्नु भनेको के हो?
जलवायु विज्ञहरूका अनुसार, बादल फाट्नु (Cloudburst) कुनै सामान्य वर्षा होइन। यो एकैछिनमा अत्यधिक वर्षा हुने चरम मौसमी घटना हो, जसमा १०० मिलिमिटर वा सोभन्दा बढी पानी एक घण्टाभित्र खस्न सक्छ। यस्तो पानीको मात्रा सामान्य वर्षाको भन्दा धेरै गुणा बढी हुन्छ। परिणामस्वरूप नदीहरू तत्काल उफ्रिन्छन्, जमिन पानीले भरिन्छ, र पहाड–पहिरोको जोखिम तीव्र हुन्छ।
नेपालमा बादल फुट्नु घटना प्रायः हिमाली र पहाडी भेगमा बढी देखिन्छ। जब तातो र आर्द्र वायु अचानक उच्च हिमाली क्षेत्रमा चढ्छ र चिसो वायुसँग ठोक्किन्छ, त्यतिबेला वायुमण्डलीय अस्थिरता हुन्छ। यही प्रक्रियामा बादलभित्रको पानी ठूलो परिमाणमा जम्मा भई छोटो समयमा एकैपटक झर्छ जसलाई हामी बादल फुट्ने भन्छौँ।
नेपालमा हरेक वर्ष यस्ता घटनाले कर्णाली, गण्डकी र सुदूरपश्चिमका धेरै गाउँहरूमा क्षति पुर्याइरहेका छन्। जलवायु परिवर्तनका कारण वर्षा प्रणाली अनियमित भएको छ, जसले बादल फुट्ने सम्भावना अझ बढाएको छ।
विज्ञानले यसलाई प्राकृतिक कारण मान्छ, तर जलवायु परिवर्तनले यस्तो चरम घटना हुने सम्भावना अझै बढाएको छ। अनियमित मौसमी ढाँचा, वायुमण्डलीय तापक्रमको वृद्धि, र वर्षा प्रणालीको अस्थिरता यसको कारक मानिन्छन्।
प्रतिक्रिया