सरस्वती बुढा
सुर्खेत, असोज ९
सुर्खेतको वीरेन्द्रनगर-७ इत्रामस्थित खड्का परिवार अहिले घरविहीन बनेको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका भाइ डा. डम्बरबहादुर खड्का र विष्णुबहादुर खड्काको तीनवटै घर पूर्णरूपमा ध्वस्त भएको हो।
बुधबार बिहान आफ्नै आँगनमा धुलाम्मे ढुंगामाटो र जलेका काठबीच उभिएर पीडा सुनाउँदा दाजुभाइको आँसु झल्किएको थियो।
“४१ वर्षको जागिरे जीवनको पसिना एकैदिनमा खरानी बनाइयो,” भक्कानिँदै डा. खड्काले भने, अध्ययनका लागि बाहिर गएका छोरालाई अब बेड कहाँ देखाउने ? स्मृति, कागजात, किताब, गहना सबै जलेर सकियो।
कैलाश मानसरोवर दर्शनबाट फर्किँदै गर्दा घरमा आगलागी भएको डा. खड्का बाटोमै थिए भने उनका भाइ विष्णु सुर्खेतमै थिए। विष्णुले सञ्चालन गरेको वीरेन्द्रनगर-१२ एयरपोर्ट चोकस्थित माया आयल स्टोर र फार्मेसीसमेत भीडले तोडफोड गर्दा करोडौं मूल्यको सम्पत्ति नष्ट भयो।
विगत सम्झिँदै डा. खड्काले भने, प्रदेश स्थापनाको बेलामा पनि हाम्रो घरमा आक्रमण भएको थियो। म अस्पतालमै बिरामीको उपचार गर्दै थिएँ तर घरमा गाडी तोडफोड भयो, ९५ वर्षकी आमामाथि समेत हातपात भयो।
अमेरिकाको भिसा हातमा हुँदाहुँदै पनि जन्मथलो नछोडेको स्मरण गर्दै उनले भने, “काठमाडौ बस्न सकिन्थ्यो, विदेश जान सकिन्थ्यो, तर म यहाँका जनताको सेवामा लागेँ। आज यही अभिशाप भोग्नुपरेको छ।”
प्रदेश अस्पतालका पूर्वनिर्देशक समेत रहेका डा. खड्का कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पु¥याउने अभियन्ता हुन्। कोभिड महामारीमा दिनरात खटिएको अनुभव स्मरण गर्दै उनले भने, त्यो मेरो स्वार्थका लागि थिएन, कर्णालीवासीको जीवन बचाउन थियो। तर आज त्यही सेवाभाव बोकेको मेरो परिवार पीडामा छ।
व्यक्तिगत कागजातदेखि लाखौं मूल्यका पुस्तक र गहना सबै जलेर खरानी भएका छन्। आफ्ना दाइ पूर्णबहादुर खड्कामाथि लागेको आरोपबारे बोल्दै डा. खड्काले भने, “यदि घुस खाएको प्रमाण छ भने देखाइयोस्, गलत गरेको भए जेल जानु पर्छ। तर आधारविहीन आरोपमा एउटै परिवारलाई सजाय दिनु न्याय होइन।
भाइ विष्णुले पनि तत्काल छानबिन र दोषीलाई कारबाहीको माग गरे। उनले भने, “यदि राज्यले दोष देखायो भने सजाय होस्, नभए बारम्बार हाम्रो घरमाथि प्रहार रोकिनुपर्छ। निजी सम्पत्ति जलेर हामी आज तीनै दाजुभाइ घरविहीन भएका छौं।
प्रतिक्रिया