माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरिँदै सरस्वती मन्दिरहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास रहिआएको छ। आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ। यस दिन पढाइ सुरु गरे राम्रो विद्या प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
विद्या र सृजनाकी देवीका रूपमा सरस्वतीको पूजा गर्ने भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले कलम, कापी, कुची, वाद्ययन्त्रलगायत सामग्रीलाई देवीका प्रतीकका रूपमा पूजा गर्ने चलन छ। तान्त्रिक परम्परामा भने सरस्वतीलाई तारादेवीका रूपमा आराधना गरिन्छ।
सूर्य उत्तरायण लाग्दै दिन लामो हुँदै जाने विश्वासका कारण यस पर्वलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। सामान्यतया आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेलविवाह (इही) जस्ता शुभकर्म साइत नहेरी गर्न मिल्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता कर्म गर्न नहुने मान्यता रहेको छ।
यद्यपि बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने यथावत् रहेको छ। काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारा स्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि विशेषगरी विद्यार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ।










प्रतिक्रिया