काठमाडौँ । नेपालमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाइन्छ। २०७२ सालमा संविधान सभाबाट तयार पारिएको नेपालको नयाँ संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइन्छ त्यसकारण यस दिनलाई नेपालको राजनीतिक, सामाजिक र ऐतिहासिक यात्रामा एउटा महत्वपूर्ण अध्यायका रूपमा लिइन्छ।
नेपालको संविधान लामो संघर्ष, आन्दोलन र बलिदानको परिणाम हो। हजारौं नागरिकले जनआन्दोलनमा गरेको त्याग, पीडा र योगदानकै आधारमा संविधान सभाले तयार गरेको संविधानले नेपालको राजनीतिक दिशा निर्धारण गर्यो। यही संविधानमार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको हो।
संविधानले प्रत्येक नागरिकलाई मौलिक हक, स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका अधिकार सुनिश्चित गरिदिएको छ। यसले नागरिकलाई अधिकारसँगै कर्तव्यबोध पनि गराउँछ, ताकि सबैले राष्ट्र निर्माणमा सक्रिय योगदान दिन सकून्।
नेपाल विभिन्न भाषा, जाति, धर्म र संस्कृतिहरूले भरिएको देश हो संविधानले यी सबैलाई एउटै कानुनी छातामुनि समेट्दै राष्ट्रिय एकता र सहअस्तित्वलाई मजबुत बनाएको छ। समान अवसर, सामाजिक न्याय र सहकार्यको बाटो यही संविधानले खोलिदिएको हो। संविधान दिवसको अवसरमा देशभर झण्डा फहराइन्छ, औपचारिक कार्यक्रम र सचेतनामूलक गतिविधि आयोजना हुन्छन्। विद्यालयदेखि सरकारी कार्यालयसम्म यस दिनलाई राष्ट्रिय गौरव र लोकतान्त्रिक मूल्यको प्रतीकका रूपमा मनाइन्छ।
संविधान दिवस केवल अधिकारको पर्व मात्र होइन, कर्तव्य र जिम्मेवारी सम्झाउने दिन पनि हो। यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै समावेशी, समानतामूलक र लोकतान्त्रिक समाजतर्फ अघि बढाउने मार्ग देखाउँछ।
प्रतिक्रिया