४ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऊर्जामन्त्री घिसिङ र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै राजदूत श्रीवास्तवले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–भारतबीच ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा भइरहेको सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजना तथा नयाँ योजनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलमा महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत नहरमार्फत नेपालतर्फ पानी पठाउने, राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण, तथा नेपालबाट भारततर्फ थप विद्युत् निर्यातबारे कुराकानी भएको थियो ।

मन्त्री घिसिङले दशैं–तिहारमा उद्योगधन्दा बन्द रहने भएकाले आन्तरिक माग घट्ने उल्लेख गर्दै सो अवधिमा अतिरिक्त विद्युत् भारततर्फ निर्यात गर्न स्वीकृति दिन आग्रह गरेका छन् । हाल नेपालले भारतसहित बंगलादेशतर्फ ११६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएको छ भने थप १३८ मेगावाट निर्यातको प्रस्ताव भारतसमक्ष प्रस्तुत भएको छ ।

जेनजी आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माणमा आवश्यक परे सहयोग गर्न भारत तयार रहेको जानकारी पनि राजदूत श्रीवास्तवले दिएका थिए ।

भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव चिरञ्जीवी चटौत, सन्दीप कुमार देव र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत प्रतिक कार्कीको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८२, आइतबार  ६ : १९ बजे