२५ आश्विन २०८२, आइतबार | Sun Oct 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपातसँगै बढ्यो चिसो, हुम्लाको तापक्रम माइनसमा



काठमाडौं । देशभर मनसुन समाप्त भइसकेपछि तापक्रम क्रमशः घट्दै गएको छ। मौसम सफा रहे पनि बिहान र साँझको समयमा जाडो महसुस भएको छ ।

मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशका अधिकांश ठाउँमा पछिल्ला केही दिनयता तापक्रम घट्ने क्रम जारी छ। बिहानको चिसो र बेलुकाको हावा बढी महसुस भइरहेको छ।

शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम -१.३३ डिग्री सेल्सियस मापन गरिएको छ। उपल्लो हुम्लामा हिमपात भएपछि त्यहाँको तापक्रम झनै घटेको हो। हिमपातका कारण हुम्लाको न्यालु सडकखण्ड समेत अवरुद्ध भएको छ।

यस्तै, जुम्लाको तापक्रम पनि घट्दै गएको विभागले जनाएको छ। हाल जुम्लाको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस पुगेको छ।

काठमाडौंमा शनिबार बिहानको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस मापन गरिएको छ, जुन शुक्रबारको १५.६ डिग्रीभन्दा झरेको हो। मौसमविद्हरूका अनुसार आगामी दिनमा तापक्रम अझै घट्ने सम्भावना छ।

केही दिनअघिसम्म देशभर वर्षा र बाढीको असर देखिएको थियो। विशेषगरी पूर्वी नेपालमा तीव्र वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो। अहिले भने मनसुन प्रणाली नेपालबाट बाहिरिसकेकाले देशभर मौसम स्थिर र सफा बन्दै गएको छ।

तर, पूर्वी नेपालका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना अझै कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा भने आजको दिनभर मुख्यतया सफा मौसम रहनेछ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शनिबार  ७ : १८ बजे