स्याङ्जा । दुख गरि पालेका पशुहरू मरेपछि कसको मन दुख्दैन र ? स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका वडा न १ छिस्दीका मोतिलाल घर्ति मगरको मन भारी छ । पोहोर तीनवटा ठुल्ठुला बोका मरे फेरि यो वर्ष अर्को गर्भवती बाख्रा मरेपछि मगरलाई ठुलै नोक्सानी भोग्नु पर्यो ।
खै के हो के हो ? दैवले बाख्रा नपाल भनेको हो कि बुझ्नै सकिन पोहोर उन्नाइस, तेइस र चालीस किलोको बोका मरे, यिनै हातले खाल्डो खनेर गाडेँ, फेरि यो वर्ष गर्भवती बाख्रो मर्यो दुखी हुँदै मगरले भने ।
उनको घरमा हरेक वर्ष जेठ असारतिर पालेका बाख्रा मर्ने गरेका छन तर के रोग हो ? यसको सोधीखोजी भएपनि रोग पत्ता लागेको छैन । भेटनरी चलाउनेहरुले घाँसको कारणले पनि मर्छन् भन्छन् तर मलाई त्यस्तो लाग्दैन यो अज्ञात रोगनै हुनुपर्छ उनले भने ।
यो रोगले आक्रमण गरेपछि बाख्राहरू झोक्राउने र विस्तारै टेक्न नसक्ने खुट्टा कक्र्याइएर अनौठो आवाज निकालेर मर्ने गरेको उनको भनाई छ । छिस्दीका डन बहादुर गाहको घरमा पनि बाख्रो मरेको छ भने गाउँघरमा फाट्टफुट्ट बाख्रा मरेको मगरले जानकारी दिए ।
तस्तै अघिल्लो वर्ष रुरुक्षेत्र गाउँपालिका वडा न ३ गौतम टोलका किसान घनश्याम गौतमका एक दर्जन र रुरुक्षेत्र १ अम्लपाटका किसान शिव ज्ञवालीका आधा दर्जन बाख्रा अज्ञात रोगले मरेका थिए ।
राज्यले किसानलाई पशुपालन र कृषिमा प्रोत्साहन गर्ने भनेपनि गोठै भरिका बाख्रा मर्दा पनि राज्यको तर्फबाट केही चासो नदेखिएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया