सरस्वती बुढा सुर्खेत, भदौ २
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -९ लाटीखोलीमा १९ वर्षीय कमला रेग्मी आइतबार बिहान मृतक अवस्थामा फेला परेकी छिन्। उनी घरभित्र दराजको हत्तामा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
स्थानीयका अनुसार शनिबार श्रीकृष्ण जन्म अष्टमीको अवसरमा कमला आफ्ना माइत गएकी थिइन्। उनका श्रीमान पनि उनीसँगै माइत पुगेका थिए तर त्यही रात घर फर्केका थिए। आइतबार बिहान भने कमला मृतक फेला परेकी हुन्।
घटनापछि गाउँभरि शङ्का र स्तब्धता छाएको छ। मृतककी आफन्त र छिमेकीले यो सामान्य आत्महत्या नभई योजनाबद्ध हत्या हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। ” दराजको हतामा कसरी झुण्डिन सक्छ ? यो आत्महत्या होइन, हत्या नै हो भन्ने लाग्छ।,” स्थानीयले प्रतिक्रिया दिए।
कमलाको विवाह भएको एक वर्ष मात्र भएको र आउँदो मङ्सिरमा दुई वर्ष पुग्ने अवस्थामा उनको जीवन अचानक यति रहस्यमय तरिकाले अन्त्य हुनुपर्ने घटनालाई झनै शंकास्पद बनाएको स्थानीयको भनाइ छ। विवाहपश्चात निरन्तर महिला हिंसा र मानसिक/ शारीरिक यातना खेप्दै आएको पनि मृतककी साथी र छिमेकीहरूले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतकको सबलाई पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको र मृतककी ससुराली पक्षका सदस्य सहित श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया